एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
अहमदावादमा भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको हो ।
पन्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ६९ रनको उत्कृष्ट पारी खेले। त्यस्तै, पृथ्वी शले ३९ तथा स्टीभन स्मीथले २४ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि कप्तान मयंक अग्रवालले ५८ बलमा सर्वाधिक ९९ तथा दविड मालनले २६ बलमा २६ रनको योगदान गरे ।
जितपछि ८ खेलबाट १२ अंकसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ भने पन्जाब पांचौं स्थानमा रहेको छ।
त्यस्तै, आइतबार दिउँसो भएको अर्को खेलमा सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गर्दै राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ ।
दिल्लीमा राजस्थानले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।
राजस्थानका लागि जोस बट्लरले १ सय २४ रनको शतकीय इनिङ्स खेले ।