Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित


    आइतबार, बैशाख १९ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुकुम । रुकुम(पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको छ।

    चौधवटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात/सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो।

    भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ।

    नागरिकको सहजताका लागि उनीहरुकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर दुईवटा बनाउने निर्णय गरिएको हो।

    गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सम्मका वडा र ९ नम्बर वडालाई मिसाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)ले जानकारी दिइन्।

    उनकाअनुसार उत्तरगङ्गा गाउँपालिकामा ७ र ८ नम्बर वडासँगै १० देखि १४ नम्बरसम्मका वडाहरु रहनेछन्।

    यस्तै १२ नम्बर वडामा रहेको जाजरबाङ गाउँलाई १३ नम्बर वडामा मिलाउने प्रस्ताव पनि पारित भएको छ।

    सिस्ने गाउँपालिका १ र २ नम्बर वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा पुथाउत्तरगङ्गा गाउँपालिकाको ७ र ८ नम्बर वडालाई त्यसमा मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्तावलाई पनि गाउँ सभाले पारित गरेको उपाध्यक्ष मल्लले बताइन्।

    गाउँ सभाबाट दुईवटा गाउँपालिका बनाउन भनेर पारित गरेको निर्णयलाई स्वीकृतिका लागि जिल्ला समन्वय समितिमार्फत प्रदेश हुँदै सङ्घमा सिफारिस हुने कानूनी प्रावधान रहेको छ।

    स्थानीय तहलाई हेरफेर गर्नुपरेमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि गाउँसभाबाट प्रस्ताव पारित भएको हुनुपर्ने प्रावधान छ।

    सोहीअनुरुप पुथाउत्तरगङ्गा गाउँपलिकालाई दुई टुक्रा बनाउने निर्णय गाउँसभाबाट पारित गरेको जनाइएको छ।

    अहिले रुकुम(पूर्व)मा सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गरेर जम्मा तीनवटा गाउँपालिका रहेका छन्।

    स्थानीय तहको हिसाबले हेर्न हो भने रुकुम(पूर्व) सबैभन्दा सानो जिल्ला हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार