दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका-६ स्वर्गद्वारी टोलमा भारतीय नम्बर प्लेटको गाडीमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालक एउटै परिवारका रहेको खुलेको छ ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेट जे ०१६६०८८५ निशान कार भित्र तीन बालकको शव भेटिएको थियो ।
कारका मालिक यादवप्रसाद गैरेलाई प्रहरीले पक्राउ गरेको छ । तीनै बालक तुलसीपुर उपमहानगरपालिका ६ बरूवा गाउँका हुन्।
कारभित्र मृत भेटिएकाहरु स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास र भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप रहेका छन् । सुवास र करण दाजुभाइका छोरा हुन् ।
शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। अभिभावकले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको भन्दै १७ गते प्रहरी कार्यालयमा खोजिविनका लागि निवेदन दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट आएको कुकुर सहित एक्सपट टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।