Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुण्डानाइके मन्त्रीलाई डीआइजीको सलाम, नेपाल प्रहरीकै दुर्भाग्य


    शनिबार, बैशाख १८ २०७८
    2.8K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार टिकाउनका लागि गुण्डानाइके राजीव गुरुङ(दीपक मनाङ्गे) बिहीबार युवा तथा खेलकुद मन्त्री बनाए । यसले एमालेकै छविमा कालोधब्बा लाग्न पुगेको छ । हुन त एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बाहुबली बबन सिंह, प्रभु साहहरुलाई पार्टीमा रातो कार्पेट बिछ्याएर भित्र्याइसकेका छन् । र, मन्त्रीमा बिराजमान गराएकै छन् । ओलीकै शैली अनुशरण गर्दै गण्डकीमा दीपक मनाङ्गेलाई मन्त्री बनाएर पृथ्वी सुब्बाले गरेका छन् ।  

    गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री नियुक्त भएकै दिन बिहीबार मनाङ्गेलाई सपथग्रहण गराए । कम्युनिष्ट आदर्शबाट ओतप्रोत भएका बयोबृद्ध शेरचनले मनाङ्गेलाई सपथ खुवाउनुपर्ला भन्ने कल्पना पनि गरेका थिएनन् होला । तर उनले संवैधानिक बाध्यताका कारण मनाङ्गेलाई सपथ खुवाउनुपर्यो ।
    ज्यान मार्ने उद्योगमा अदालतबाट कैद संजाय पाएका र विभिन्न अभियोग लागेका मनाङ्गेलाई प्रहरीले पटक पटक पक्राउ गरी थुनामा राखेको थियो । तर तिनै मनाङ्गेलाई मन्त्री नियुक्त भएपछि गण्डकी प्रदेश प्रहरीका डीआइजी घनश्याम अर्यालले सलुट गरेको फोटोले निकै चर्चा पाएको छ ।

    नेपाल प्रहरीका एक अधिकारी भन्छन्–‘डीआइजीले गुण्डानाइकेलाई सलुट गरेको फोटोले प्रहरीकै शीर निहुरेको छ । अर्याल नेपाल प्रहरीमा तुलनात्मक रुपमा विवादरहित नै मानिन्छन् । उनलाई त्यो सपथग्रहण समारोहमा नगई नहुने थिएन । एउटा बहना बनाएर उनी छलिन सक्थे । अरु कसैलाई पठाउन सक्थे । डीआइजी अर्यालले गुण्डानाइकेलाई सलाम गरेको देखेर आफ्नो मुटु छियाछिया भएको गुल्मीका जितेन्द्र जीसी बताउँछन् । उनले भने, आफ्नै जिल्लाको डीआइजीले गुण्डानाइकेलाई सलाम गरेको दृश्य देख्दा मेरो मुटु फुट्ला जस्तो भयो ।

    मनाङ्गेको अपराधिक शृंखला

    मनाङ्गेविरूद्ध २०६१ म गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय तोकेको थियो । पुनरावेदन अदालत पाटनले त्यही मुद्दामा पाँच वर्ष जेल संजाय तोकेको थियो । सर्वाेच्च अदालतले पनि त्यही सजाय सदर गरेपछि उनी केही समय भूमिगत भएका थिए ।

    निर्वाचन जितेपछि हत्या अभियोगमा २०७५ वैशाख ६ गते थुनामा परेका मनाङ्गे २०७५ पुष ६ गते रिहा भएका थिए । १० वर्षभन्दा कम कैद सजाय भोग्नुपर्ने मुद्दामा हिरासत बाहिरबाटै लड्न पाउने कानुनी व्यवस्थाको उपयोग गर्दै मनाङ्गे थुनामुक्त भएका थिए ।

    सांसद बनेपछि पनि उनी विवादरहित रहन सकेनन् । २०७६ माघ ७ गते पोखरामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उदघाटन कार्यक्रममा मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमै झापड हानेका थिए । गुरुङलाई झापड हानेको आरोपमा मनाङ्गे पुन थुनामा परेका थिए । जमलमा डाइनेष्टी क्लव र ठमेलमा दोहोरी र डान्स रेष्टुरेन्टहरु संचालन गर्ने दीपक मनाङ्गे पूर्वयुवराज पारस शाहका पनि अति निकट थिए ।

    अपराधिक गतिबिधिमा लागेबापत पटक पटक संजाय भोग्दैआएका मनाङ्गे सुरुमा नेपाली कांग्रेसमा लागेका थिए । कांग्रेस छाडेर राप्रपामा लागे । २०७४ को निर्वाचनमा उनी एमालेमा लागे । मनाङको प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएपछि एमालेको चर्को बिरोध भएकाले उनलाई फिर्ता लिन लगाई स्वतन्त्र उम्मेदवारी दिन लगाइयो । तर एमालेले उठाएका उम्मेदवार डमीमात्र थिए । वास्तविक उम्मेदवार मनाङ्गे नै थिए । भारतमा बाहुबलीहरुलाई मन्त्री बनाइएको समाचारमा पढ्ने नेपालीले केपी ओलीको शासनमा नेपालमै बाहुबलीलाई मन्त्री बनाएको भोग्न पाएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार