काठमाडौं । कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले काठमाडौं उपत्यकाका जिल्लाहरुमा जारी गरिएको निषेधाज्ञामा आज (शुक्रबार) देखि थप कडाइ हुने भएको छ । सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आज विहानैदेखि प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकिङलाई कडाई गरेको छ । यस्तै, शुक्रबारदेखि सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने एसएसपी सिंहले बताए । ‘पहिलो दिन भएर सवारीसाधनलाई केही लुज गरिएकै हो । तर, शुक्रबारबाट त्यस्तो हुँदैन । हामीले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्छौँ । सरकारको निर्देशन कडाइका साथ पालना हुनेछ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने ।
निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिने प्रहरीको भनाई छ । सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । मास्क नलगाई सडकमा निस्कनेको हकमा प्रहरी झन् कडाइका साथ उत्रने एसएसपी सिंहले बताए । ‘मास्क नलगाई सडकमा निस्कनेलाई प्रहरीले पक्राउ गर्नेछ ।
काठमाडौं प्रहरीका अनुसार मास्क नलगाई सडकमा निस्केका र निषेधाज्ञा उल्लंघन गर्ने चार सय ८१ जनलाई बिहीबार नै पक्राउ गरिएको थियो ।