Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रम्पको वकिलको घर र कार्यालयमा एफबीआईको छापा


    बिहिबार, बैशाख १६ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले डोनल्ड ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारेको छ।

    युक्रेनसँग लिएर उनको कारबाहीका सम्बन्धमा खानतलासी गरिएको अधिकारीहरूले बताएका छन्।

    सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन गरिरहेका थिए।

    ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपतिलाई पहिलो पटक महाभियोग लगाइएको थियो।

    बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा छापा मारिएको थियो।

    न्यूयोर्क टाइम्सका अनुसार अधिकारीहरूले त्यहाँबाट विद्युतीय उपकरणहरू सहितका सामग्री जफत गरेका छन्।

    युक्रेन सरकारको तर्फबाट जुलियानीले ट्रम्प प्रशासनसँग गैरकानुनी तरिकाले पैरवी गरेका थिए कि भन्ने बारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

    साथै गत वर्षको राष्ट्रपतिय चुनावको अगाडि उनले वर्तमान राष्ट्रपति जो बाइडनका छोरा हन्टरका सम्बन्धमा अपराध ठहर्‍याउन सकिने सूचना सङ्कलन गरेका आरोपबारे पनि अनुसन्धान भइरहेको छ।

    यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर, तथा उनका पिता जो बाइडनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाव दिने कार्यमा जुलियानीले केन्द्रीय भूमिका खेलेको बताइएको थियो।

    साथै ट्रम्पको पहिलो महाभियोगको सुनुवाइका बेलामा बयान दिएकाहरूले जुलियानीले युक्रेनका निम्ति तत्कालीन अमेरिकी राजदूतलाई हटाउन पनि मुख्य भूमिका खेलेको बताएका थिए।

    बाइडन तथा उनका छोराले सबै आरोपको खण्डन गरेका थिए। हाल हन्टर बाइडनले एक असम्बन्धित आपराधिक कर मामिलामा अमेरिकी न्याय मन्त्रालयको अनुसन्धान बेहोरिरहेका छन्।

    गुन्डागर्दीको आरोप
    जुलियानीका वकिल रोबर्ट कोस्टेलोले उनले कानुन नतोडेको जिकिर गरेका छन् तथा छापा मार्ने कार्य ‘कानुनी गुन्डागर्दी’भएको बताएका छन्।

    यो पूर्ण रूपमा अनावश्यक थियो, कोस्टेलोले फक्स न्यूजलाई भनेका छन्। जुलियानीले आफूलाई विदेशी एजेन्टको रूपमा दर्ता नगरेका कारण यी कारबाही गरिएको कोस्टेलोले बताए।

    अमेरिकाको विदेशी एजेन्ट दर्ता ऐनअनुसार कुनै अन्य देशको तर्फबाट कसैले एजेन्टको रूपमा काम गर्न चाहे तिनले विदेश मन्त्रालयलाई सूचित गर्नुपर्छ। (स्रोत : बीबीसी)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार