बाँके। जिल्लाको भेरी अस्पताल नेपालगन्जका आठ जना डाक्टरसहित ७३ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीले १ वैशाखयता अस्पतालका ४४ महिला र २७ पुरुष कर्मचारीलाई कोरोना भएको जानकारी दिए।
संक्रमित हुनेमा चिकित्सक ८, नर्सिङ कर्मचारी ३३, प्यारामेडिक्स (एचए र अहेव) ८ र सहायक कर्मचारी (क्लिनर, हेल्पर) २२ र प्रशासनका २ जना छन्। संक्रमित हुने ८ डाक्टर इमरजेन्सीमा कार्यरत हुन्। इमरजेन्सीमा कार्यरत प्यारामेडिक्स ६ र ५ जना सहायक कर्मचारी रहेको ओलीले बताए।
अस्पतालका सूचना अधिकारी डा.संकेत रिसालका अनुसार एक सातायता धेरै जना कर्मचारीमा कोरोना पुष्टि भएको हो। संक्रमित हुनेमा इमरजेन्सीबाहेक अप्रेशन थिएटर, आइसीयूमा कार्यरत स्वास्थ्यकर्मी छन्। खोप लगाएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पनि सुरुमा सामान्य ज्वरो आउने र टाउको दुख्ने समस्याबाहेक समस्या नदेखिएको डा.रिसालले बताए।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना सम्पर्क व्यक्ति तेज वलीका अनुसार बुधबार साँझसम्म भेरी अस्पतालमा नेपालगन्ज १७ की ३९ वर्षीया महिला, नेपालगन्ज १२ का ६५ वर्षका पुरुष र बैजनाथ गाउँपालिका का २ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बैजनाथ गाउँपालिका ६ का ५६ वर्षका पुरुषको निधन भएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ।