Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकासहित १४ जिल्लामा निषेधाज्ञा


    बिहिबार, बैशाख १६ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ ।बुधबार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको छ । योसँगै निषेधाज्ञा लागू हुने जिल्लाको संख्या ११ पुगेको छ भने थप तीन जिल्लामा आंशिकरूपमा लागू गरिएको छ ।मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाँके, सुर्खेत, कैलाली, दाङ, पर्सा, कास्की र कञ्चनपुरमा निषेधाज्ञा पूर्णरूपमा लागू गर्ने निर्णय गरिसकिएको छ । त्यसै गरी बाग्लुङ, कालिकोट र बर्दियामा आंशिकरूपमा निषेधाज्ञा लागू गरिएको छ ।

    संक्रमणको जोखिम बढेसँगै विभिन्न जिल्लाका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्ने निर्णय गर्दै छन् । गृह प्रवक्ता जनकराज दाहालका अनुसार रूपन्देहीमा निषेधाज्ञा लागू हुने क्रममा छ । हाल सबै जिल्लाले एकदेखि दुई सातासम्मको लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । संक्रमणको संख्या बढ्दै गएमा सम्बन्धित जिल्लाले निषेधाज्ञा लम्ब्याउने निर्णय गर्न सक्ने पनि प्रवक्ता दाहालले बताउनुभयो । भीडभाड रोक्न विभिन्न जिल्लामा जोर–विजोर प्रणाली पनि लागू गरिएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्र्दै निषेधाज्ञाको निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो । सोही निर्णयको आधारमा गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो ।

    कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि संक्रामक रोग ऐन–२०२० को दफा २ र स्थानीय प्रशासन ऐन–२०२८ दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सो निषेधाज्ञाको आदेश जारी गरेको हो ।सोही अधिकार प्रयोग गरी पहाडी र हिमाली जिल्लाको हकमा २ सय र काठमाडौं उपत्यका र तराई–मधेसका जिल्लाका हकमा ५ सय भन्दा बढी संक्रमितको संख्या पुगेको अवस्थामा जिल्लाभरि वा कुनै भागमा निषेधाज्ञा वा कुनै अन्य कदम चाल्नुपर्ने आवश्यकता भए जिल्ला कोरोना–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस लिई बढीमा वैशाख १६ देखि दुई साताका लागि निषेधाज्ञा जारी गर्न सक्ने पनि हालै मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।

    निषेधाज्ञा लागू भएका बेला जिल्ला प्रशासन कार्यालयमा पास लिन आउनेहरूको संख्या बढ्न सक्नेतर्फ पनि प्रशासनले सजगता अपनाएको ललितपुरका प्रमुख जिल्ला अधिकारी दुण्डीप्रसाद निरौलाले बताउनुभयो । उहाँले विवाह, व्रतबन्धलगायत कार्यका लागि १५ जना भन्दा बढी नहुने गरी ब्यानरसहित दुईवटा गाडीमा आवागमन गर्न सकिने व्यवस्थासहित फेरी सूचना निकालेको जानकारी पनि दिनुभयो । (नेपाल समाचारपत्र दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार