एजेन्सी । भारतीय कप्तान बिराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बेंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।
अहमदाबादमा बेंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् । दिल्लीलाई अन्तिम ओभरमा १६ रनको आबश्यक थियो तर १४ रन मात्र बनाउन सक्यो।
बेंगलोरका हर्सल पटेलले २ तथा मोहमद सिराज र केली जेमिसनले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
बेंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
दिल्लीका इशान्त शर्मा,कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १/१ विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको बेंगलोरले लिगमा पाँचौं जित निकाल्दै ६ खेलमा १० अंक जोडेको छ ।
दिल्ली ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।