Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई सातामा सात गुना बढी थपिए कोरोना सङ्क्रमित, १३३ जनाको मृत्यु


    बुधबार, बैशाख १५ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। पछिल्लो १४ दिन अर्थात् दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । 

    नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको थियो । उक्त सङ्ख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ पुगेको छ । 

    दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त सङ्ख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टिनमा रहेका छन् । 

    हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेकामा हाल उक्त सङ्ख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।     

    काठमाडौँ उपत्यकामा पनि सङ्क्रमित सात गुनाले वृद्धि

    दुई सातामा काठमाडौँ उपत्यकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । दुई साताअघि सङ्क्रमिको  सङ्ख्या काठमाडौँ उपत्यकामा २५४ रहेको थियो । पछिल्लो २४ घण्टामा उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेर एक हजार ९६६ पुगेको छ । दुई साताअघि सङ्क्रमितको सङ्ख्या काठमाडौँमा १७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० रहेको थियो । हाल काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० तथा भक्तपुरमा १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

    दुई सातामा १३३ जनाले कोरोनाबाट ज्यान गुमाए

    नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई साताअघि तीन सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । वैशाख १ गते कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भएको थियो भने आज उक्त सङ्ख्या बढेर तीन हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । दुई सातामा कोरोनाबाट १३३ जनाले ज्यान गुमाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार