बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा मात्र मंगलबार आठ जनाको मृत्यु भएको छ ।
जिल्लास्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
वलीका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् ।
त्यस्तै, बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक-एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।
योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।