काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले विश्वभर फैलँदै गएको नयाँ भेरिएन्टको कोभिड-१९ महामारी नेपालमा पनि फैलिएको भन्दै उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
यो सँगै काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सिडीओहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख गरिएको छ ।
सोमबार बसेको संयुक्त बैठकले उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका अन्य गतिविधि बन्द हुने र उक्त नियम उल्लङ्घन गरे कडा कारवाही हुने वताइएको छ।
यस्तै, सरकारले तत्कालका लागि आन्तरिक उडान बन्द नगर्ने भएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने भन्ने निर्णय हुनेछ’ मन्त्री ज्ञवालीले भने । यसैबीच, सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेसँगै हवाई भाडा बढेर उच्च बिन्दुसम्म पुगेको छ ।
धेरै गन्तव्यको लागि टिकट नै पाइन छाडेको छ र टिकट बाँकी रहेका गन्तव्यको भाडा उच्च बिन्दुमा पुगेको हो । बुद्ध एअरको बुधवारको धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ तोकिएको छ । नेपालगञ्जको १० हजार रुपैयाँसम्म र विराटनगरको ७२ सयसम्म पुगेको छ ।
आइतवारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ ।