कन्चनपुर । कोरोना भाइरस सङ्क्रमणबाट आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेको छ । उपचारका क्रममा सोमबार दुबै जनाको महाकाली अस्पतालमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणपछि दुबै जनालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भइसकेको महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए। उनले हाल अस्पतालमा ६० जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए ।
त्यसैगरी, जिल्लाको गड्डाचौकी नाकाबाट भारत जान आज बिहानदेखि रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए। उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए ।
‘अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन्”, प्रहरी नायब उपरीक्षक गुरुङले भने, “आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।” स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी लकडाउन गर्ने विषयमा गृहकार्य गरिरहेको छ ।
त्यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन् ।