काठमाडौं । कोरोनाविरुद्ध भ्याक्सिन लगाउँदा वीर अस्पताल खोप केन्द्रमा अनियमितता हुने गरेको छ । भ्याक्सिनेटर अ हे व युवराज सुवेदी र नवराज श्रेष्ठले उमेर समूह नमिल्ने र आफूनिकटलाई फोन गरी गरी बोलाएर कोभिसिल्डको पहिलो खोप दिएका छन् । नेपाली नागरिकलाई निःशुल्क लगाउन दिएको खोप भारतीय नागरिकलाई पैसा लिएर लगाएको आरोप अहेव सुवेदीमाथि लागेको छ ।
सुवेदीले कलेजका संचालकहरु, भारतीय ब्यापारी तथा फाइनान्सका कर्मचारीलाई कोभिसिल्ड दोस्रो खोप पहिलो डोज भन्दै सयौंको सख्यामा दिएका छन् । गत हप्ता दिइएको चाइनीज भेरोसेल पनि भारतीय नागरिकलाई प्रतिब्यक्ति २०–३० हजार रुपैयाँ लिँदै दुईसय जनालाई खोप लगाइदिएको अस्पताल स्रोतले बताएको छ । भारतीयहरू चाइनीज खोप लगाउन हवाईजहाजै चढेर काठमाडौमा आएका थिए ।
वीर अस्पतालका एक सुरक्षा गार्डका अनुसार वीर अस्पतालकै अधिकांश कर्मचारी खोप लिन जाँदा सुवेदीले हप्कीदप्की गर्ने गरेका र पैसा दिनेलाई पहिले खोप लगाएपछि रहेको बाँकी मात्र लगाउने गरेका छन् । सुवेदी तिनै कर्मचारी हुन् स्वास्थ्य कर्मचारी समायोजनको समयमा वीर अस्पतालमा नै समायोजन हुन आफू जटिल विरामी भएको भनी वीर अस्पताल मेडिकल बोर्डबाट सिफारिस गराएका थिए । उनले वीरमै समायोजन हुन नक्कली बिरामी भएको ढिडको समस्या भएको सिफारिस बनाई स्वास्थ्य मन्त्रालयमा पेश गरेका थिए । उनी वीर अस्पतालको मेडिकल ओपीडीमा पिएफटी गर्ने ठाउँमा बस्छन् ।
वीर अस्पतालमा पिएफटी गर्ने आउने विरामीलाई यहाँ समय छैन भन्दै आफैं काम गर्ने क्लीनीकमा पठाएर बिरामी ठग्ने गरेका छन् । वीर अस्पतालको सो ओपीडीमा आउने दम रोगका बिरामीलाई प्रयोग हुने मुखबाट तान्ने औषधि सुवेदीले आफूलाई कमिसन दिने कम्पनीको मात्र खरिद गर्न लगाउने गरेका छन् । अन्य कम्पनीको औषधि ल्याएमा उनले फिर्ता पठाउने गरेको ओपीडीकै उनकै एक सहकर्मी कर्मचारी नै बताउँछन् । उनी कोभिड फोकल पर्सन डा. अच्चुतराज कार्की निकट हुन्, उनले जे गरे पनि डा. कार्की नदेखेझै गर्छन् । भारतीय नागरिक सयौ जनालाई र नेपालमै ब्यापार गर्ने भारतीयहरुलाई यिनीहरुले पैसा लिएर खोप लगाइदिएको खोप केन्द्रमा कार्यरत एक कर्मचारी बताउ्छन् ।
खोप बापतको भत्ता पनि यी दुइ जनाले मात्र खाने गरेका छन् । खोपमा खट्ने कर्मचारीलाई मगाएको खाजा पनि यी दुई जनाले घर लैजाने गरेको आरोप छ । त्यसैलै खोप केन्द्रमा खटाइएका कर्मचारीले खाजा पनि खान पाएका छैनन् । सुवेदी आफूलाई स्वास्थ्य सचिव लक्ष्मण अर्यालको मान्छे हँु भन्ने गर्दछन् । नेपालीका लागि सरकारले निःशुल्क दिएको खोप भारतीयलाई घुस लिएर दिएकोबारेमा अहेव युवराज सुवेदीसँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन ।