Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुरुभयो रोकिएको सिँचाइ आयोजनाको काम


    शुक्रबार, बैशाख १० २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बागलुङ । कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि सुरू भएको छ।

    यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका-५ को लाम्खु, बिरौटा र ठूलढुङ्गाका खेत तथा बारीका फाँटमा सिँचाइ पुग्नेछ। बिहुँका १०० घरधुरीको झण्डै ४०० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउनेगरी आयोजना सुरू भएको हो।

    गण्डकी प्रदेश सरकारको बहुवर्षे आयोजनाअन्तर्गत अघिल्लो वर्ष विनियोजित रु १५ लाख बजेट फिर्ता भएपछि चालू वर्ष काम थालिएको उपभोक्ता समितिका अध्यक्ष भूमिश्वर कँडेलले जानकारी दिए।

    ‘कोरोना सङ्क्रमण र लकडाउनका कारण काम गर्न नसकेर बजेट फिर्ता भयो, यो वर्ष जसरी पनि काम गर्छौं’, उनले भने, ‘बहुवर्षे कार्यक्रम भएकाले आगामी वर्ष पनि बजेट आएमा निर्माण सम्पन्न गर्न सकिन्छ।’

    उपभोक्ताको १५ प्रतिशत श्रमदानसहित रु एक करोड ५० लाख लागतमा आयोजना निर्माण हुनेछ।

    दुई किमी लामो सिँचाइ कुलोमार्फत् दादराखोलाको पानी खेतमा ल्याइने योजना उनले सुनाए। 

    सिँचाइ अभावमा यहाँका किसानले हिउँदे तथा वर्षेखेती लगाउन पाएका थिएनन्।

    किसानले सिँचाइ आएपछि तरकारीखेती लगाएर आत्मनिर्भर बन्ने योजना वडाको छ।

    ‘हामीले सिँचाइ अभावमा तरकारी पनि लगाउन सकेका थिएनौं’, स्थानीय माया कँडेलले भनिन्, ‘अब गाउँघरमै उत्पादन गरेर खर्च बचाउन सकिने भयो।’

    परम्परागत कुला मासिएपछि स्थानीयले सिँचाइको समस्या झेल्दै आएका थिए। 

    गत वर्ष वडा कार्यालयको पहलमा आयोजनाको लागत तयार गरिएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए।

    ‘पालिकाबाट बजेट विनियोजन सम्भव नभएपछि उपभोक्ता समितिमार्फत् प्रदेशको ध्यानाकर्षण गरेपछि बजेट विनियोजन भएको हो’, कँडेलले भने, ‘यो आयोजना निर्माण हुँदा १०० घरपरिवारले लाभ पाउन सक्छन्।’

    सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले आयोजनामा प्राविधिक सहयोग गरेको डिभिजन इञ्जिनीयर सुरेन्द्र पौडेलले जानकारी दिए।

    बहुवर्षे पक्की नहरसहितको कार्यक्रम भए पनि पानी चलाएर आगामी वर्षबाटै उत्पादन लिने काम गरिने किसानको योजना छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार