काठमाडौं । गत फागुन २२ गते कञ्चनपुर, महेन्द्रनगर र दिपायलबाट लिइएको परीक्षामा २० जना नक्कली परीक्षार्थी सहभागी भएको खुलेको छ ।
लोक सेवा आयोगले सन्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो परिवर्तन गरी परिक्षामा सहभागी भएका २० जना नक्कली परीक्षार्थीलाई लोक सेवा आयोगले कारबाही गरेकाे छ ।
उनीहरुलाई लोक सेवा आयोगले लिने सबै प्रकारका परीक्षामा पाँच वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरिएको हाे । साथै उनीहरुलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउन नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई लेखी पठाउने निर्णय पनि लोक सेवा आयोगले गरेको छ ।
महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पस परीक्षा केन्द्रमा आठ जना तथा शान्ति निकेतन मावि र अमिती कलेजमा तीन/तीन जना नक्कली परीक्षार्थी फेला परेका छन् । अन्य परीक्षार्थी बालजागृती मावि, जानकी कन्या मावि र दिपायलमा फेला परेका हुन् ।