चितवन। श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ ।
प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित हिजो यसतर्फ आएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।
बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट आइपुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
रथयात्रा समूह हिजो देवघाटमै बास बसेको थियो ।
श्रीरामनवमीका दिन आज बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढ्ने छ ।
आज मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उनले बताए । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।