एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविकको विजेता रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति घरेलु मैदानमा भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २-१ गोलको रोमान्चक जित निकाल्दै म्याड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।
१० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे । भने बार्सिलोनाका लागि ओस्कार मिन्गुएजाले एक गोल फर्काए ।
रियललाई खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको २८ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २(० को अग्रता दिलाए ।
खेलको ६० औं मिनेटमा ओस्कारले एक गोल फर्काएपनि बार्सिलोना २-१ ले पराजित भयो ।
यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।