Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्कटा क्लब आहा ! रारा गोल्डकप फुटबलको च्याम्पियन


    आइतबार, चैत्र २९ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • पोखरा। पाहुना टोली अफ्रिकन रुट्स एशोसिएशनलाई पराजित गर्र्दै सङ्कटा क्लब पोखरामा सञ्चालन भएको मोेफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता’ को च्याम्पियन बनेको छ ।

    सहारा क्लब पोखराको आयोजनामा यही चैत २१ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भएको १९औँ संस्करणको प्रतियोगितामा आजको फाइनल खेलमा ‘ए’ डिभिजनको क्लब सङ्कटा टाइब्रेकरमा अफ्रिकन रुट्सलाई ४–२ गोल अन्तरले पराजित गरी पहिलो पटक आहा राराको उपाधि उचाल्न सफल भयो । 

    आहा १ रारा गोल्डकपमा पाँच पटक सहभागिता जनाएको सङ्कटा यसअघि सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । पहिलोपटक फाइनलमा स्थान बनाएको सङ्कटाले पोखराको मैदानमा उपाधि जितेर नयाँ विजेता बन्दै इतिहास कायम गरेको छ ।

    फाइनल खेलमा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीबाट समान १–१ गोलको बराबरी भएपछि विजेताको निर्णय टाइब्रेकरबाट लिइएको थियो । 

    पेनाल्टी सुट आउटमा सङ्कटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुश घलानले गोल गर्न सफल भए । कप्तान सरोज दाहालको प्रहार विपक्षी टोलीका गोल किपर माङ्गाले रोके  ।

    अफ्रिकन रुट्सका तर्फबाट के यानिङ र र रिमको प्रहारमात्र गोलमा परिणत भएको थियो । कुइटीको प्रहार पोल बाहिर गएको थियो भने आर एमबाकोपको प्रहार सङ्कटाका किपर राजाबाबु थापाले गोल हुनबाट बचाउन सफलभएका थिए । 

    खेलको शुरुआती ११औँ मिनेटमा पाहुना टोली अफ्रिकन रुट्सले अग्रता बनाएको थियो । विपक्षी टोलीका डिफेण्डरले डि बक्स नजिक रोक्न नसकेको बललाई अघि बढाउँदै अफ्रिकन रुट्सका बासिकले पेनाल्टी क्षेत्रबाट दोस्रो बार च्याप्दै प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । 

    खेलमा फर्किन निरन्तर सङ्घर्ष गरेको सङ्कटाले एक पछि अर्को प्रयास गरे पनि सफल हुन सकेन । खेलको ५१औँ मिनेटमा सङ्कटाले बराबरी गोल फर्कायो । सङ्कटाका विदेशी खेलाडी ग्लोरीले गोल गर्दै टोलीलाई खेलमा फर्काउन सफल भएका थिए ।  

    खेलको नियमित तथा थप गरिएको समय समेतमा दुवै टोलीले गोलका लागि सङ्घर्ष गरे पनि खेलमा थप गोल भएन र पेनाल्टी सुटआउटबाट विजेताको टुुङ्गो लगाइएको हो । 

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सङ्कटाका गोल किपर राजाबाबु थापाले अप्रिला स्कुटर पुरस्कार प्राप्त गरे । उनले प्रतियोगिताको उत्कृष्ट गोलकिपर समेत घोषित हुँदै नगद रु २५ हजार पुरस्कार र ट्रफी प्राप्त गर्न सफल भए  । 

    यसैगरी, उत्कृष्ट मिडफिल्डर अफ्रिकन रुट्सका रिम, उत्कृष्ट फरवार्ड अफ्रिकन रुट्सका बासिक, डिफेण्डर सङ्कटा क्लबका निरज बस्नेत र प्रशिक्षक अफ्रिकन रुट्सका सरजी बोरिस घोषित हुँदै जनही रु २५ हजार नगद पुरस्कार प्राप्त गरे । 

    विजेता  र उपविजेता टोली तथा सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, मुुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीलगायतले पुरस्कार वितरण गरेका थिए । 

    उपाधि विजेता सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले शारीरिकरूपमा अग्ला र बलियो विपक्षी टोलीका खेलाडीसँग आफ्ना खेलाडीले कडा मिहिनेत गरेर रणनीतिअनुसार खेलेर सफलता मिलेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार