काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरु हुँदा हरेक दिन संक्रमितहरुको नयाँ रेकर्ड बन्दै गएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ, जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।योसँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोड १९ लाखभन्दा बढी निको भएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ९४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ, भने हालसम्म भारतमा कोरोना संक्रमणबाट १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।