Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन


    शुक्रबार, चैत्र २७ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । 

    रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिए। 

    डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पार्कमा ३० जना स्थानीयलाई प्रत्यक्ष्य रोजगारी दिँदै नयाँ वर्ष २०७८ को अवसर पारेर शनिबार उद्घाटन गरी सञ्चालनमा ल्याउने भएको हो । 

    कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिए ।  एकै ठाउँमा घुम्न र रमाइलो गर्न जाने सुरक्षित ठाउँको अभाव भइरहेको बेलामा आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्यसाथ बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारिक सदस्यले एकै ठाउँमा मनोरञ्जन लिनसक्ने गरी  यो पार्क सञ्चालनमा आउन लागेको हो । 

    काठमाडौँको कोटेश्वर–सूर्यविनायक छ लेन सडकको अन्तिम बिन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै पलासेमा सञ्चालित फनपार्कले जल र स्थल गरी ११ वटा विभिन्न खेल खेल्न पाउने र उमेरअनुसारको तीन वटा पौडी पोखरीको व्यवस्था गरिएको छ ।  मुम्बईको ‘वाटर किंगडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट त्यस्तै फनपार्क सञ्चालनमा ल्याउने उद्देश्यअनुरुप ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा करिब तीन हजारले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यबस्था गरिएको छ । 
        
    पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, । पार्कमा रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ । त्यस्तै अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० देखि ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । कोरोना सङ्क्रमणलाई ध्यान दिई स्वास्थ्य मापदण्डको व्यवस्था, गुणस्तरीय उपकरण राखिएको छ । 

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार