Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनः सुनसरीदेखि सिन्धुपाल्चोकसम्म हात हालाहाल


    बुधबार, असोज १४ २०८३
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुनसरी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत भएका क्षेत्रीय अधिवेशन कतिपय जिल्लामा विवाद भएको छ । विवादका क्रममा कतिपय जिल्लाहरुमा हात हालाहाल भएको छ ।

    विवाद र हात हालाहालपछि सुनसरीमा चुनाव स्थगित भएको छ । सुनसरी निर्वाचन क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद चर्किएपछि दुई पक्षबीच हात हालाहाल भएको छ ।

    लौकहीस्थित सिटी हलमा क्षेत्रीय सभापति पदका उम्मेदवार गफार अन्सारी र मनोज साह पक्षबीच मतदानका क्रममा विवाद भएको हो । मतपत्रका विषयमा प्रश्न उठेपछि विवाद सुरु भएको र त्यसक्रममा धकेलाधकेल तथा हात हालाहाल भएको बताइएको छ ।

    विवादका क्रममा मतपेटिका लडेको र मतपत्र छरपस्ट भएको बताइएको छ । दुवै पक्षले घटनाबारे एकअर्कामाथि आरोप लगाएका छन् ।

    विवादका कारण केही समय मतदान प्रक्रिया प्रभावित भएको थियो। घटनामा उम्मेदवारसहित केही मतदाता घाइते भएको र मतपत्रसमेत छरपस्ट भएको जानकारी पाएपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले सुनसरी–४ को निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको हो ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान भइसकेका मतपत्रसहितको मतपेटिका जिल्ला प्रहरी कार्यालयमा सिलबन्दी गरी सुरक्षित राखिएको छ ।

    त्यसैगरी, सिन्धुपाल्चोकका दुबै क्षेत्रका क्षेत्रीय अधिवेशन विवादपछि स्थगित भएका छन् । क्षेत्र नम्बर २ को इन्द्रावतीमा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएकाले बंशलाल तामाङ समर्थकहरुले मतपेटिका नै फालिदिएपछि अधिवेशन स्थगित भएको छ ।

    क्षेत्र नम्बर १ का अधिवेशन गराउन खटिएका ऋषिराम पौडेलले मतपत्रमा हस्ताक्षर नै नगरेको पाइएपछि स्थगित भएको छ ।

    त्यसैगरी अन्य केही जिल्लामा समेत विवादका कारण अधिवेशन स्थगित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार