Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनमन्त्री पौडेलले गरे बिदाइ


    मंगलबार, असोज ६ २०८३
    30
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजे कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री शाहलाई गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग पौडेल(गनेश)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

    प्रधानमन्त्रीलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने सचिवालयले जनाएको छ । उनी दोहाबाट बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् ।

    शाहलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् ।

    सोही दिन उनी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्ने छन्। त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नेछन् ।

    ब्रिफिङ लगत्तै शाह नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ । असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ ।

    त्यसलगत्तै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन्। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार