उपरोक्त सम्बन्धमा त्यस अनलाइन मिडियाले मिति २०८३।०४।२४ गते ‘स्वास्थ्य मन्त्रीको निर्णय डाक्टरले मानेन, प्रदेश आपूर्तिका प्रमुख ५६ दिनसम्म सरुवा भएको अस्पताल गएनन्’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सो समाचारमा भनिएको थियोः स्वास्थ्य मन्त्रालयले ताकेता गर्दा पनि रमाना लिएर खटाएको कार्यालयमा अटेरी गर्दैआएका डा. यादवले आपूर्ति केन्द्रबाट धमाधम स्वास्थ्य उपकरणको बोलपत्र गर्ने तयारी गरेका छन् ।
उनले करोडौंका उपकरण खरिदका टेण्डर गर्ने तयारी गरेका छन । बिशाल पण्डित र उनको परिवारका कम्पनीसँग मिल्नेगरी उनले टेण्डरको तयारी गरेको आरोप छ । पण्डितले बजेट वक्तब्य अगाडि नै सेटिङ गर्ने र आफ्ना कम्पनीसँग मात्र उपकरण खरिद गर्नेगरी स्पेक राखेकाले त्यही अनुसार यादवले टेण्डर गर्ने तयारी गरेका छन् ।
मधेश प्रदेशमा गुणस्तरहीन उपकरण आपूर्ति गरेकोमा पण्डितबिरुद्ध अख्तियारले यसअघि भ्रष्टाचार मुद्दा पनि चलाइसकेको छ । मधेश प्रदेश सरकारद्वारा प्रदेशभित्र विभिन्न स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि आर्थिक बर्ष २०७९/०८० मा गरिएको ठेक्कामा ५२ करोड ४२ लाख ५४ हजार भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ बेशाख १४ मा बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । ती उपकरणको ठेक्का बिशाल पण्डित र उनका परिवारका नाममा रहेको हस्पिटेक इन्टरप्राइजेज प्रालिले पाएको थियो । खरिदको प्राविधिक स्पेसिफिकेसन तयार गर्दा बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मिलेमतो देखिएको अख्तियारले गरेको अनुसन्धानमा देखिएको थियो ।
त्यसैगरी मिति २०८३।०५।०४ गतेका दिन ‘मधेशमा राजकाज गर्ने कर्मचारीलाई दरबन्दी फिर्ता गर्न प्रमुख सचिव पौडेल कस्सिए, अटेर गर्नेलाई प्रहरी नै लगाउने’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सो समाचारमा म विशाल पण्डित र मेरो कम्पनीलाई अनावश्यकरुपमा मुछेर हाम्रो मान, प्रतिष्ठा र व्यापारिक ख्यातिमा असर हुने गरी समाचार प्रकाशित गरिएको थियो । सो समाचारमा भनिएको छः स्वास्थ्य मन्त्रालयले ताकेता गर्दा पनि रमाना लिएर खटाएको कार्यालयमा नगई अटेरी गर्दैआएका डा. यादव (मधेश प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. नागेन्द्रप्रसाद यादव) ले आपूर्ति केन्द्रबाट धमाधम स्वास्थ्य उपकरणको बोलपत्र गर्ने तयारी गरिरहेका छन् । उनले करोडौंका उपकरण खरिदका टेण्डर गर्ने तयारी गरेका छन । बिशाल पण्डित र उनको परिवारका कम्पनीसँग मिल्नेगरी उनले टेण्डरको तयारी गरेको आरोप छ ।
सो समाचारको अन्तिम अनुच्छेदमा भनिएको छः स्वास्थ्य उपकरण माफिया विशाल पण्डित पनि यादवलाई मधेश प्रदेश आपूर्ति केन्द्रमै टिकाउन लागेको स्रोत बताउँछ ।
त्यसैगरी तपाईको अनलाईन मिडियाले मिति २०८३।०४।०५ गते ‘मधेश आपूर्ति केन्द्रका प्रमुख यादवको सरुवा रोक्न रास्वपा नेतृ नविनतादेखि पण्डितको दौडधूप’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सो समाचारमा भनिएको छः काजसरुवा बदर गराउन डा. यादवले शक्तिकेन्द्रमा श्रीमतीलाई लगाउनुको कारण भने गएको आर्थिक बर्षको भुक्तानी चालु बर्षमा दिएको बिषय पनि जोडिएको छ । सेटिङमा स्वास्थ्य उपकरण आपूर्ति गर्ने ब्यापारीका रुपमा चिनिएका हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिका संचालक विशाल पण्डितलाई २० करोड रुपैयाँ भुक्तानी दिएका कारण यादव जसरी हुन्छ काजसरुवा बदर गराउन लागेको स्रोतको दाबी छ ।
बजेट वक्तब्यअगाडि नै सेटिङ गर्ने र आफ्ना कम्पनीसँग मात्र उपकरण खरिद गर्नेगरी स्पेक राखी टेण्डर गर्न लगाएका पण्डितले गैरकानुनी रुपमा अघिल्लो बर्षको भुक्तानी अर्को आर्थिक बर्षमा गराएका थिए । मुकुन्द निरौला सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रमुख हुँदा पण्डितले उनलाई प्रभावमा पारी कानुनको छिद्र प्रयोग गरी अर्को बर्ष भुक्तानी गर्ने गरी पत्र लेख्न लगाएर २० करोड लिएका थिए । उपकरणको बजेट छुट्याउन ५ प्रतिशत, मुख्यमन्त्रीलाई ५ प्रतिशत, मधेश प्रदेशका स्वास्थ्य मन्त्रीलाई ५ प्रतिशत र आपूर्ति केन्द्रका प्रमुखलाई ५ प्रतिशत गरी २० प्रतिशत कमिसन खुवाएर उनले १० गुणा महंगोमा उपकरण आपूर्तिको एकाधिकार पाउने गरेको आरोप लाग्दैआएको छ ।
मधेश प्रदेशमा गुणस्तरहीन उपकरण आपूर्ति गरेकोमा पण्डितबिरुद्ध अख्तियारले यसअघि भ्रष्टाचार मुद्दा पनि चलाइसकेको छ । मधेश प्रदेश सरकारद्वारा प्रदेशभित्र विभिन्न स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला ( निदान केन्द्र) स्थापनाका लागि आर्थिक बर्ष २०७९(०८० मा गरिएको ठेक्कामा ५२ करोड ४२ लाख ५४ हजार भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ बेशाख १४ मा बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । ती उपकरणको ठेक्का बिशाल पण्डित र उनका परिवारका नाममा रहेको हस्पिटेक इन्टरप्राइजेज प्रालिले पाएको थियो ।
खरिदको प्राविधिक स्पेसिफिकेसन तयार गर्दा बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मिलेमतो देखिएको अख्तियारले गरेको अनुसन्धानमा देखिएको थियो । हस्पिटेककै प्राविधिक स्पेसिफिकेसन प्रयोग गरेर जनस्वास्थ्य प्रयोगशालाले प्रतिस्पर्धा सीमित गरेको देखिएको आरोपपत्रमा उल्लेख गरिएको थियो । तर पनि मधेश प्रदेशको उपकरण आपूर्तिमा उनकै एकाधिकार अथवा सिन्डीकेट छ । प्रतिस्पर्धा नै हुन नदिई उनले उपकरण आपूर्तिको ठेक्का पाउने गरेका छन् । चालु आर्थिक बर्षको भुक्तानी दिएको बिषयमा कुनै पनि बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कठघरामा पुग्न सक्ने यादव मधेश प्रदेश आपूर्ति केन्द्रबाट सरुवा नहुन शक्तिकेन्द्र धाइरहेको स्रोत बताउँछ ।
त्यसैगरी तपाईको अनलाईनले मिति २०८३।०४।०८ गतेका दिन स्वास्थ्य ठेक्कामा पण्डित हावी, आफ्नै होटलमा मुख्यमन्त्री र मन्त्रीलाई राखेर आपूर्तिका निर्देशकको सरुवा सेटिङ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
सो समाचारमा भनिएको छः स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन । त्यो सिन्डीकेट वालेन्द्र शाह प्रधानमन्त्री भएपछि हट्ने र स्वस्थ प्रतिस्पर्धाका आधारमा गुणस्तरीय उपकरण खरिद हुने अपेक्षा गरिएको थियो । तर दुईतिहाइको शाहको सरकारमा पनि बिशाल पण्डितको सेटिङ साम्राज्य भत्किनु त परै जाओस्, थप मजबुत बन्दै गएको पछिल्ला गतिबिधिले देखाइरहेका छन् ।
संघीय सरकारको अर्थमन्त्रालयदेखि प्रदेशका आर्थिक मामिला मन्त्रालयका बजेट बनाउनुअघि नै बिशाल पण्डितले आफ्नो कम्पनीसँग मात्र मिल्नेगरी उपकरण खरिदको सेटिङ गर्दैआएका छन् ।
आफ्नो कम्पनीसँग मात्र मिल्नेगरी निश्चित स्पेक राखेकाले अरु कम्पनीले बोलपत्रमा भाग लिन नै पाउँदैनन । पण्डित र उनका परिवारका सदस्यहरुका नाममा हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड कन्सर्नसहितका कम्पनी संचालित छन । पण्डितले उपकरण खरिदका लागि बजेट बनाउँदै सेटिङ गर्नेमात्र होइन, संघका खरिददेखि प्रदेशका आपूर्ति केन्द्रका प्रमुखसम्म आफ्नै अनुकूलका सरुवा गराउने काम पनि गर्दैआएका छन । मधेशदेखि अन्य प्रदेशका आपूर्ति केन्द्रका प्रमुखहरुको सरुवा पण्डितले आफ्नै होटल बसेरा बुटिकमा राखी सेटिङ मिलाएर गर्दैआएको आरोप छ । सिंहदरबारछेउमा रहेको बसेरा बुटिक होटल उपकरण खरिददेखि आपूर्ति केन्द्र र अस्पताल प्रमुखहरुको सरुवा सेटिङ गर्ने थलो बनेको स्रोत बताउँछ ।
मधेश प्रदेशको आपूर्ति केन्द्रको प्रमुख रिक्त छ । बिशाल पण्डित कोशी अस्पतालमा कार्यरत डा. राजीवकुमार झालाई मधेश प्रदेश आपूर्ति केन्द्रमा काज सरुवा गराउन चाहिरहेका छन् । विगतमा पनि मधेश प्रदेश आपूर्ति केन्द्रमा बसेका झालाई ल्याएर सेटिङमा उपकरण आपूर्तिको ठेक्का आफैं लिने चलखेलमा छन । त्यसका लागि पण्डितले आफ्नै होटल बसेरा बुटिकमा बुधबार साँझ मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव, स्वास्थ्यमन्त्री नागेन्द्र साह र डा. राजीवकुमार झाबीच भेटघाट गराएर सेटिङ मिलाएको स्रोतको दाबी छ । राजीवकुमार झा डेढ बर्षअघि मधेश प्रदेशको आपूर्ति केन्द्रमा कार्यरत थिए । आपूर्ति केन्द्रमा हुँदा पण्डितको कम्पनीबाट उपकरण खरिद गर्ने क्रममा विवादमा परेपछि २०८१ माघ ११ मा उनी कोशी प्रदेशमा काजफिर्ता भएका थिए ।
प्रदीप पौडेल स्वास्थ्य मन्त्री भएको समयमा ९ वटा भन्दा बढी उपकरण खरिदको ठेक्कामा अनियमितता गरेकोबारेमा विवादमा परेपछि उनी काजफिर्ता भएका थिए । पण्डितको कम्पनीले मात्रै ठेक्का पाउने गरी खरिद मापदण्ड बनाएको समाचार आएपछि उनी काजफिर्ता भएका थिए । डा. झाले सेटिङ गरेको भन्दै चौतर्फी विरोध भएपछि मधेस प्रदेश स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट सेटिङको आशंका गरिएका बोलपत्र पनि रद्द गरिएका थिए । यसरी पण्डितको सेटिङमा चल्दैआएका तिनै झालाई पुनः मधेशको आपूर्तिमा ल्याउन बसेरा बुटिकमा मुख्यमन्त्रीसहितको मिटिङ राखिएको स्रोतको दाबी छ । तिनै झालाई पुनः मधेश प्रदेशको आपूर्ति केन्द्रमा ल्याउने र उपकरण खरिदमा आफ्नो एकछत्र राज कायम गर्ने दाउमा छन्
।
बुधबार बसेरा बुटिक होटलमा बैठक राखी सेटिङ गरेपछि झाको नाममा मुख्यमन्त्री यादव र स्वास्थ्यमन्त्री साहले सहमतिको पत्र मगाइसकेको स्रोतको भनाइ छ । संघीय स्वास्थ्य मन्त्री निशा मेहतालाई समेत प्रभावमा पारेर बिशाल पण्डितले आपूर्तिमा झालाई ल्याउनका लागि सबै वातावरण मिलाइसकेको कुरा मुख्यमन्त्री यादव र मन्त्री साहलाई भनेपछि बसेराबाटै पत्र मगाइएको स्रोतको दाबी छ ।
मधेश प्रदेश आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्रकुमार यादवलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गएको असार १ गते नै भरतपुर अस्पतालमा काजसरुवा गरेको भए पनि उनले साउन ६ गतेसम्म रमाना लिएका छैनन । बिशाल पण्डितले नै सेटिङमा लगेका यादवको काजसरुवा बदर गराउन पण्डित लागिपरे पनि नसकेपछि राजीवकुमार झालाई ल्याउन उनी लागेका छन् । नागेन्द्रको काजसरुवा रोक्न श्रीमती नविता यादवसमेत दौडधूप गरिरहेको समाचार नेपालफेसले उजागर गरिसकेको छ । नविता रास्वपाको केन्द्रीय सदस्य हुन् ।
आपूर्ति केन्द्रमा झालाई ल्याउन डिल गरेका पण्डितले मधेश प्रदेशका प्रायः सबै अस्पतालका उपकरण खरिदको ठेक्का लिने गरेका छन् । उनले गुणस्तरहीन उपकरण आपूर्ति गरेको अनुगमनका क्रममा भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वटा भ्रष्टाचार मुद्दा बिशेष अदालतमा दायर गरिसकेको छ ।
मुद्दा नम्बर १
मधेस प्रदेशका ६४ स्थानीय तहमा निदान केन्द्र स्थापनाका लागि भएको उपकरण खरिदमा सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, २०६४ र आर्थिक कार्यविधि ऐन, २०७६ को उल्लंघन भएकाले अख्तियारले २०८२ बैशाख १४ गते हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डितसहित १४ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा आर्थिक वर्ष २०७८/०७९ मा भएको ठेक्का खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव, प्रयोगशालाका निर्देशक र हस्पिटेक इन्टरप्राइजेज सञ्चालक पण्डितबिरुद्ध १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगले मधेस प्रदेशका ६४ स्थानीय तहमा निदान केन्द्र स्थापनाका लागि भएको उपकरण खरिदमा सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, २०६४ र आर्थिक कार्यविधि ऐन, २०७६ को उल्लंघन भएको उल्लेख गरेको थियो ।
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले चार प्रकारका स्वास्थ्य उपकरण खरिद गर्न २५ करोड ३८ लाख ५३ हजार १२० रुपैयाँ स्वीकृत बजेटमा १९ करोड ५९ लाख ८७ हजार २०० रुपैयाँको लागत अनुमान तयार गरिएकोमा खरिद प्रक्रियामा कुनै पूर्व तयारी वा अध्ययन नगरी हस्पिटेक इन्टरप्राइजेजसँग मिलेमतो भएको अख्तियारले जनाएको थियो । प्राविधिक स्पेशिफिकेशन हस्पिटेकले प्रस्तुत गरेको कम्पनीको उपकरणसँग हुबहु मिल्ने गरी बनाइएको थियो, जसले प्रतिस्पर्धालाई सीमित गरेको आयोगको ठहर थियो । खरिद प्रक्रियामा हस्पिटेकका सञ्चालक विशाल पण्डितकी पत्नी सञ्चालक रहेको कस्तुरी ट्रेड लिंक, ससुरा संस्थापक रहेको मेडी सोलुसन इन्टरनेशनल र दाजुले बिक्री गरेको लाइफलाइन ट्रेड इन्टरनेशनल प्रा.लि.बाट दररेट लिई लागत अनुमान तयार गरिएको थियो ।
ठेक्का सम्झौतामा उपकरणको स्थापना र सञ्चालन अनिवार्य भए पनि महालेखापरीक्षकको प्रतिवेदनअनुसार १८ मंसिर २०७९ सम्म अधिकांश स्थानीय तहमा उपकरण दाखिला भएको थिएन । प्रयोगशालाका निर्देशक र वरिष्ठ ल्याब अधिकृतले गलत प्रतिवेदन पेस गरी २४ असार २०७९ मा १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ भुक्तानी गरेको थियो । आयोगको स्थलगत अनुगमनमा अधिकांश प्रयोगशालामा दैनिक ४–५ जना बिरामी मात्र आउने, उपकरण हप्तामा एक पटक सञ्चालन हुने र रिएजेन्ट्सको म्याद गुज्रिसकेको पाइएको थियो । खरिद गरिएका उपकरणको क्षमता (२००–४०० टेस्टर घण्टा ) आवश्यकताभन्दा धेरै रहेको र कम क्षमताका उपकरणले पनि काम गर्न सक्थे भन्ने तथ्यले अनावश्यक खर्च गरिएको देखिएको थियो ।
मुद्दा नम्बर २
कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचारमा पण्डितलगायत ६ जनाविरुद्ध २०८० चैत १८ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो । पण्डितले कसरी सेटिङ गर्दछन् भन्ने कुरा अख्तियारको आरोपपत्रबाट छर्लङ्ग हुन्छ । देशका अधिकांश सरकारी अस्पतालको उपकरण खरिदमा पण्डितले यसैगरी सेटिङ गर्ने, प्रतिस्पर्धा नदिने र राज्यलाई अरबौं नोक्सान पार्ने काम गरेका छन् ।
त्यसैगरी मिति का दिन तपाईको अनलाईन मिडियाले मिति २०८३।०५।०५ गते प्रकाशित गरेको समाचारमा लेखिएको छः सेटिङमा स्वास्थ्य उपकरण आपूर्ति गर्दैआएको बिशाल पण्डितको समूहको इमराल्ड फर्मा कम्पनीले चीनमा मात्र क्वालिफाई एआरभी खोप स्वास्थ्य सेवा बिभागले खरिद गरेको आरोप छ । ६ करोड ७० लाख रुपैयाँ बराबरको एआरभी खोप पण्डितको कम्पनीबाट खरिद गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले नै दबाब दिएको स्रोतको दाबी छ । स्वास्थ्य सेवा बिभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सचिवकै दबाबमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रीक्वालिफाई नभएको एआरभी खोप खरिदको बोलपत्र स्वीकृत गरी जनस्वास्थ्यमा खेलवाड गरेको आरोप छ ।
डब्लुएचओ प्रीक्वालिफाई नभएको चिनियाँ कम्पनीको एआरभी खोप खरिदको सेटिङमा मन्त्रालयका सचिव डा. विकास देवकोटा, बिभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचन, ब्यवस्थापन महाशाखा प्रमुख केशव पण्डित र खरिद प्रमुख चेतननिधि वाग्लेको मिलेमतो रहेको स्रोत बताउँछ । औषधि ब्यवस्था बिभागकी निमित्त महानिर्देशक शिवानी खड्गीलाई समेत यो समूहले मिलाएको खुलेको छ । खड्गीले डब्लुएचओ प्रीक्वालिफाई एआरभी खरिद गर्नुपर्ने ब्यवस्था हुँदाहुँदै एकपटकलाई जीएमपी एआरभी खरिद गर्न सहमति दिएको स्रोतको दाबी छ ।
गएको बैशाख ३० अर्थात् १३ मे २०२६ मा एआरभी खोपको टेण्डर गरिएको थियो । स्रोतका अनुसार टेण्डर सूचना प्रकाशित भएपछि बिशाल पण्डितको बसेरा बुटिक होटलमा मिटिङ राखेर टेण्डर सूचना सार्वजनिक भएपछि सेटिङ गरिएको थियो । र, औषधि ब्यवस्था बिभागबाट पनि डब्लुएचओ प्रीक्वालिफाई नभए पनि अनुमति दिइएको थियो । औषधि ऐन २०३५ अनुसार पनि मानिसमा लगाउने खोप डब्लुएचओ प्रीक्वालिफाई हुनुपर्दछ । तबमात्रै यो सुरक्षित मान्न सकिन्छ । डब्लुएचओ प्रीक्वालिफाई नभएको खोप मानव स्वास्थ्यको लागि सुरक्षित नहुन सक्ने भएकाले जोखिमपूर्ण हुन्छ । जोखिमयुक्त ख मानवमा परीक्षण गर्न मिल्दैन ।
स्वास्थ्य सेवा बिभागका पूर्वमहानिर्देशक डा. सुशील प्याकुरेलले मान्छेमा लगाइने एआरभी, सर्पदंश लगायत हरेक खोप डब्लुएचओ प्रीक्वालिफाई हुनैपर्ने बताउँछन् । उनी भन्छन्–मानवमा लगाउने एआरभी, एन्टी स्नेक भेनम जस्ता खोप डब्लुएचओ प्रीक्वालिफाई हुनैपर्छ । म स्वास्थ्य सेवा बिभागको महानिर्देशक हुँदासम्म डब्लुएचओ प्रीक्वालिफाई भएको खोप नै खरिद गर्नेगरी बोलपत्रमै सर्त राख्नुपथ्र्यो । औषधि ब्यवस्था बिभागबाट स्वीकृति लिएर डब्लुएचओ प्रीक्वालिफाई खोप खरिद गरिन्थ्यो ।’
‘मेडिकल लाइनबाट हेर्ने हो भने पनि खोप खरिद गर्दा डब्लुएचओ प्रिक्वालिफाई हुनैपर्छ । कुकुर वा जनावरले टोकेको अवस्थामा लाउने एन्टी रेबिज भ्याक्सिन मान्छेमा लाउँदा मानिसमा उल्टो असर गर्यो भने के गर्ने ? त्यतिबेला गुहार्नुपर्ने डब्लुएचओलाई नै होला ।’ डा। प्याकुरेलले भने–‘त्यसकारण पनि संवेदनशील खोप वा औषधि डब्लुएचओ प्रीक्वालिफाई वा डब्लुएचओ प्रिक्वालिफाई भएको हुनैपर्छ ।’
स्वास्थ्य सेवा बिभाग ब्यवस्थापन महाशाखा प्रमुख केशव पण्डितले डब्लुएचओ प्रीक्वालिफाई र जीएमपीमध्ये जुन पनि खरिद गर्न पनि सकिने ब्यवस्था रहेको बताए । उनले भने–डब्लुएचओ प्रीक्वालिफाई मात्र खरिद गर्दैआएकोमा प्रतिस्पर्धा सीमित भएकाले सर्वोच्च अदालतले एन्टीरेबिज खोप जीएमपी पनि खरिद गर्ने आदेश दिएको छ
यी समाचारहरुमा तपाईको अनलाईनले उल्लेख गरेको विवरणहरुमध्ये हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डित र हस्पिटेक इन्टरप्राइजेजलाई विगतमा
दुईवटा मुद्दा परेको विवरणसम्म ठीक हो, अन्य कुनै पनि विवरण ठीक छैन ।
विशाल पण्डित र र हाम्रो कम्पनी कुनै पनि नियम र कानूनको उल्लंघन गरी व्यापार गरेको छैन । त्यसकारण तपाईको अनलाईन मिडियाले विशाल पण्डित र हाम्रो कम्पनीमाथि लाञ्छना लगाई प्रकाशित गरेका सबै समाचार गलत छन् । विशाल पण्डित काठमाडौंमा दुई अर्बको लागत भन्दा बढीमा बनेको बसेरा बुटिक होटलको मालिक हुन्, जसमा उनको शतप्रतिशत शेयर रहेको छ । बसेरा बुटिक होटलमा म प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहेका छन् । त्यसैगरी काठमाडौंमा रहेको हस्पिटेक इन्टरप्राइजेज प्रा. लि. मा पनि उनको शतप्रतिशत शेयर रहेको छ भने एकोर्ड फार्मास्युटिकल्स लिमिटेडमा पनि मेरो ठूलो हिस्साको शेयर रहेको छ । तर लाइफलाइन ट्रेड इन्टरनेशनल कम्पनीमा उनको कुनै सम्बन्ध रहेको छैन ।
विशाल पण्डित संलग्न कम्पनी एउटा ख्यातिप्राप्त कम्पनी हो । निज पनि एउटा प्रतिष्ठित व्यवसायी हुन् । कुनै पनि ख्यातिप्राप्त कम्पनी र कम्पनीको मालिकको ख्याति नै उसको सबैभन्दा ठूलो सम्पति हो । कसैको ख्यातिमा असर पुग्ने काम भयो भने त्यो कम्पनी र व्यक्तिले प्रतिस्पर्धी बजारमा काम नपाउने अवस्था हुन्छ, जसबाट उसको व्यापारिक कारोवारमा करोडौंको क्षति हुने सम्भावना हुन्छ । तपाईको अनलाईन मिडियाले विशाल पण्डितविरुद्ध आधारहीन, झुट्टा र भ्रामक समाचार लेखी निजलाई माफ निजको ख्यातिमा नकारात्मक असर पुर्याएको छ ।
कुनै पनि समाचार प्रकाशन र प्रसारण गर्नेले समाचारबाट प्रभाव पर्ने व्यक्ति वा संस्थालाई आफ्नो कुरा भन्ने मौका दिनुपर्दछ, तर nepalface.com ले उक्त नियमको पालना नगरी विशाल पण्डित र हाम्रो कम्पनीबारेमा गलत, आधारहीन तथा भ्रामक समाचार प्रसारण गरी मलाई बदनाम गर्ने कार्य गरेको हुँदा पत्रकार आचार संहिता, २०७३ (संशोधनसहित २०७६) को दफा ३, दफा ४ (३), (६), दफपा (६) (१) (ख) (ग), (४), (७) दफा ५ (२), (५) को उल्लंघन भएको छ । तपाईको अनलाइनबाट प्रकाशित समाचारहरुको बारेमा निम्नबमोजिम खण्डन प्रकाशित गरिपाऊँ । लाइफलाइन ट्रेड इन्टरनेशनल प्रा. लि. सँग विशाल पण्डितको कुनै सम्बन्ध रहेको छैन र तपाईको मिडियाले विशाल पण्डितलाई विना कुनै प्रमाण माफिया भनी चरित्रहत्या गरेको हुँदा सो शब्द प्रयोग गरेको कुरा प्रति तपाईको मिडियाले क्षमायाचना गरी खण्डन प्रकाशित गरिपाऊँ र आपत्तिजनक सामग्री वेबसाइटबाट हटाउनको लागि पनि अनुरोध गर्दछु ।
विशाल पण्डित हाम्रो कम्पनीलाई एक शब्द पनि नसोधी र कुनै आधिकारिक स्रोतविनै तपाईको अनलाईन मिडियाबाट हाम्रोबारेमा आधारहीन र भ्रामक समाचार प्रसारित भएको हुँदा सो भ्रामक समाचारको खण्डन यथाशीघ्र नभएको खण्डमा म कानूनी कारबाहीको कानुनी प्रकृयामा जान बाध्य हुने छौं भन्ने कुरा पनि तपाईलाई जानकारी गराउन चाहन्छु । विशाल पण्डित हाम्रो कम्पनीमाथि दुईवटा मुद्दा परेकोमा सबै मुद्दामा विशाल पण्डित र हाम्रो कम्पनी विशेष अदालतबाट सफाई सफाई पाएका छन् । विशाल पण्डित र हाम्रो कम्पनीविरुद्ध अहिले कुनै पनि मुद्दा दायर रहेको छैन । मुद्दा पर्दैमा दोषी हो भन्ने अर्थ लाग्नेगरी प्रेषित तपाईको मिडियाको समाचार गलत छ । र, यी श्रृंखलाबद्धरुपमा प्रेषित यी सबै समाचारहरु विशाल पण्डित र हाम्रो कम्पनीको प्रतिष्टा ख्यातिमा आँच पुयाउने दुरासयले प्रेरित रहेको सहझै बुझ्न सकिन्छ ।
हस्पिटेक इन्टरप्राइजेज प्रा. लि. का तर्फबाट बालमुकुन्द झा
२०८३ भदौ २ गतेको मिति रहेको यो खण्डन २०८३ भदौ ४ गते बिहान ११.४१ मा नेपालफेसको इमेलमा प्राप्त भएको हो । प्राप्त खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ ।
काठमाडौं। काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान...
काठमाडौँ। सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको...
काठमाडौँ। गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङको भित्रि सडकखण्डमा आइतबार बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत धारणा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend