Nepal Face
  • आइतबार, ४ असोज २०८३
  • धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते


    आइतबार, असोज ४ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनकुटा। छथर जोरपाटी गाउँपालिका वडा नं ३ बन्चरेमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।

    घाइतेमध्ये सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीको शरीरका विभिन्न भागमा चोट लागेको छ । यस्तै धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राईको टाउकोमा चोट लागेको छ भने उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बाको हातमा चोट लागेको छ । धनकुटा नगरपालिका–४ का ३३ वर्षीया पुनम लिम्बू सामान्य घाइते भएकी छन्। उनकी २ वर्षीया छोरी आरध्या लिम्बूको मुखमा चोट लागेको छ। सोही स्थानका २६ वर्षीय आइन्द्र लिम्बूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

    त्यस्तै धनकुटा नगरपालिका–३ का २७ वर्षीय भवानी लिम्बू र ४७ वर्षीय हेमबहादुर लिम्बू,धनकुटा नगरपालिका–४ का ३० वर्षीय अबिन लिम्बू तथा छथर जोरपाटी गाउँपालिका–३ का २१ वर्षीय आशिष लिम्बू घाइते भएका छन्। आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार