Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • आन्तरिक विवाद अन्त्य गरी पार्टी एकताका लागि देउवाको ७ बुँदे अपिल


    मंगलबार, भाद्र ३० २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।

    देउवाले मंगलबार ७ बुँदे अपिल पत्र जारी गर्दै पछिल्लो समय कांग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पार्टीको विधि, विधान, पद्धति र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै संस्थापनले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको उनको आरोप छ ।

    विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त नभएको देउवाले बताएका छन् ।

    उनले देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको दाबी गरेका गरेका छन् । कुनै पद वा जिम्मेवारीप्रति आफूलाई लोभ नरहेको पनि उनले स्पष्ट पारेका छन् ।

    देउवाले विगत ३५ वर्षमा मुलुकले हासिल गरेको विकास, परिवर्तन र उपलब्धिको तुलनात्मक समीक्षा गर्नुपर्ने बताएका छन् । उनले उपलब्धिमा सन्तुष्ट भएर बस्ने नभई जनताको अपेक्षा पूरा गर्न, सुशासन स्थापित गर्न, रोजगारी सिर्जना गर्न र आर्थिक समृद्धि हासिल गर्न अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।

    उनले कांग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । जवकि संस्थापनले भने असोज मै महाधिवेशन तोकेको छ । भोटेकोशी बाढीको प्रसंग उल्लेख गर्दै उनले विपत्तिका बेला सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला एक भएर अघि बढ्नुपर्ने पनि बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार