Nepal Face
  • शुक्रबार, २९ साउन २०८३
  • कर्जा लगानीमा बैंकद्धारा वास्तविक मूल्य अनदेखा, बजार भाउलाई प्राथमिकतामा राख्दा बचतकर्ता डुब्ने खतरा !


    शुक्रबार, साउन २९ २०८३
    395
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं ।  सरकारले काठमाडौंको मुख्य व्यापारिक केन्द्र इन्द्रचोक, दरबारमार्ग एरियाको जग्गाको मूल्य प्रतिआना ७६ लाख ६० हजार कायम गरेको छ । सरकारी रेट यति हुँदा त्यहाँ जग्गा आनाको ३ देखि २० करोडसम्म खरिदबिक्री हुन्छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले कौशलटार, लोकन्थली, गठ्ठाको मुख्य सडकको जग्गाको मूल्य प्रतिआना २१ लाख ६५ हजार तोकेको छ ।

    सूर्यविनायक नगरपालिकाले हाइवे छेउको जग्गाको मूल्य ४० लाख कायम गरेको छ । तर, यहाँ जग्गा आनाको १ देखि डेढ करोडमा किनबेच हुन्छ । सरकारी रेट यति छ भन्ने सबैलाई थाहा छ । तर, बैंकका भ्यालुएशनकर्ताले बजारको मूल्यलाई आधार मानेर भ्यालुएशन गर्छन् । भ्यालुएशन गर्दा बजारको भाउलाई आधार मानेर ८० प्रतिशत कर्जा प्रवाह गरिन्छ ।

    जग्गाको मूल्य केही बर्षमा अस्वाभाविक रुपमा बढ्यो । तीन दशकअगाडि १ लाख आनामा बिक्री नहुने जग्गा अहिले करोडमा खरिदबिक्री भइरहेको छ । तर, न जग्गाको लम्बाइ पनि बढेको छ न चौडाइ । जग्गाको क्षेत्रफल उति नै छ, मूल्य मात्र बढेको छ । यसरी बढ्नुमा सरकार र बिचौलियाको हात छ । राजश्व बढी लिनका निम्ति सरकारले जग्गाको भाउ बढायो ।

    दलालीहरुले बीचमा बसेर मँहगोमा जग्गा खरिदबिक्री गर्छन्, कमिशन खान्छन् । दलालीले जग्गाको भाउ बढाउँदै लगेका छन् । हाल नाइमाको भृकुटीमण्डपमा एक्स्पो चलिरहेको छ । अटोशोरुम व्यवसायीहरुले नयाँ–नयाँ मोडलका गाडी बेच्न राखेका छन् । ती गाडीको भाउ अटोशोरुम व्यवसायीले तोकेको हो, सरकारले होइन । सरकारले जग्गाको रेट तोक्छ, गाडीको तोक्दैन ।

    भृकुटीमण्डपमा राखेको गाडी लाखदेखि करोड पर्नेसम्म छ । अटोशोरुम व्यवसायीले गाडीमा ८० प्रतिशत कर्जा मिलाइदिने भन्दै आएका छन् । एक बर्षसम्म सर्भिसिङ, बीमाको जिम्मा पनि आफूहरुले लिने अटोव्यवसायीहरुको भनाइ छ । गाडीको सिसी र रङ फरक भए पनि आखिर त्यो फलाम नै हो । फलाम, रबर, फर्म, सिसा, प्लास्टिकबाट गाडी बन्छ । दुई रुपैयाँ किलोमा बिक्री नहुने फलाम रंगरोगन गरेर लाखदेखि करोडमा बेच्ने काम भइरहेको छ ।

    यस्तो सामानलाई बैंकले ८० प्रतिशत कर्जा दिन्छ । विभिन्न संघसंस्थाले १ सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३२ सयदेखि पाँच हजारसम्म पुर्याए । ती सेयर रोक्का राखेर बैंकले २८ सयसम्म कर्जा दिएको छ । २०२२ सालमा सुन ८० रुपैयाँ तोला थियो । चाँदी त कसैले किन्दै किन्दैनथें । केही महिनाअगाडि त्यही सुन चार लाख रुपैयाँ तोला पुग्यो । चाँदी प्रतितोला १० हजारसम्म पुगेको थियो ।

    बैंकमा भएको पैसा बचतकर्ताको हो । बैंकका कर्मचारी वा सञ्चालकले घुस खाएर ठूलो कर्जा प्रवाह गरेको छ । भोलि केही कारणबस् बैंकले ऋण उठाउन सकेन भने फस्छन् को ? बचतकर्ता होइन ?

    धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले एक कित्ता सेयरको पाँच हजार रुपैयाँ पुर्याउने बताएका छन् । ८३ लाख ६७ हजार सर्वसाधारणको सेयरमा लगानी छ । सेयर धितो राखेर बैंकले एक खर्ब ६८ अर्ब रुपैयाँ कर्जा दिएको छ । त्यसको दोब्बर व्यक्तिको लगानी सेयरमा छ । घरजग्गा धितो राखेर ९ खर्बभन्दा बढी रकम बैंकले ऋण प्रवाह गरेको छ ।

    सवारी साधनमा पनि बैंकको ठूलो कर्जा लगानी छ । घरजग्गा, गाडी, सेयर, सुन विलासिता वस्तुमा पर्दछ । उत्पादनमूलक क्षेत्रमा हुनुपर्ने बैंकको लगानी यी चार क्षेत्रमा छ । छिटोछिटो नाफा कमाउनका निम्ति बैंकले यी क्षेत्रमा आँखा चिम्लेर लगानी गरेको छ । तर, यो कृत्रिम मूल्य हो । सँधै यही मूल्य रहिरहन्छ भन्ने ग्यारेन्टी हुँदैन । दलालीको कब्जामा यी क्षेत्र छ । दलालीले नै मूल्य बढाएका हुन् ।

    यी क्षेत्रमा लगानी गर्दा सहकारी, लघुवित्त, फाइनान्स डुबी नै सकेको छ । बैंकमा पनि संकट देखिन थालिसकेको छ । केही बैंक त टाँट नै पल्टिसकेको छ ।बैंकबाट ऋण लिएर तिर्न नसक्दा कालोसूचीमा पर्नेको संख्या पाँच लाख नाघेको छ ।

    सहकारीबाट ६३ लाख सर्वसाधारणले ऋण लिएका छन् । लघुवित्तबाट २७ लाख, बैंकबाट २२ लाख र मीटरब्याजमा लाखौंले ऋण लिएका छन् । बैंकले १२ प्रतिशत भनेर विभिन्न बहानामा ८० प्रतिशतसम्म ब्याज असुलेको छ । व्यक्तिले त एक लाखको मासिक पाँचदेखि ३० हजारसम्म ब्याज लिएका छन् । बैंक तथा वित्तीय संस्थाले यी क्षेत्रमा लगानी गर्नुको प्रमुख कारण कमिशन र सेवाशुल्क नै हो ।

    ऋण उठाउन नसकेपछि बैंकले भटाभट ऋणीहरुको धितो लिलामीको विज्ञापन राष्ट्रिय पत्रिकामा छापिरहेका छन् । दिनहुँ पत्रिकामा यस्ता विज्ञापन देख्न सकिन्छ । घरजग्गा, गाडी, सेयर र सुन बेच्ने यत्तिकै भेटिन्छन् तर किन्ने कोही छैनन् । जग्गा प्लानिङ गर्नका निम्ति भूमाफियाले बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएका छन् । त्यही जग्गा धितो राखेर बैंकले पैसा दिएको छ ।

    अहिले त्यो जग्गा बिक्री हुँदैन । अधिकांश भूमाफिया फरार भइसकेका छन् भने बैंकको ऋण ज्यूँको त्यूँ छ । ऋणीले ऋण नतिरेपछि बैंकले अन्तिममा सकार्ने धितो हो । त्यति धितोले बैंकले आफ्नो ऋण उठाउन सक्छ ? बैंक डुब्यो कि डुबेन ? वास्तविक मूल्यभन्दा बढी भ्यालुएशन गरेर ऋण दिँदा बैंकमा संकट देखिएको हो । सहकारीका बचतकर्ताहरु निरन्तर आन्दोलनमा छन् ।

    पासबुकमा लाखदेखि करोड पैसा छ तर सहकारी बन्द भइसकेको छ । भोलि बैंकका बचतकर्ताको पनि यही हालत नहोला भन्न सकिन्न । बैंक तथा वित्तीय संस्थाले जनतालाई फसायो । आफू कमाउन र अर्काको व्यापार गरिदिन बैंक तथा बित्तीय संस्थाले बचतकर्तालाई जोखिममा पारेका छन् । सहकारीको हविगत सबैले देखिसकेका छौं । तर, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरको अझै चेत खुलेको छैन ।

    उनीहरु बैंकका सिईओहरुलाई केलाई पैसा गएन ? भनेर सोध्छन् । तर, बचतकर्ताको पैसा जथाभावी लगानी नगर भन्दैनन् । नियामक निकायले आफ्नो दायित्व पूरा नगर्दा सहकारी डुब्यो । सहकारीका बचतकर्तासँग औषधी खाने पैसा छैन । छोराछोरीको स्कुल फिस तिर्न सकेका छैनन् । यो देख्दादेख्दै पैसा किन गएन ? भन्ने कि जनताको पैसा सुरक्षित छ कि छैन ? भनेर सोध्ने ?

    पाँच बर्षअगाडि सरकारी बैंकले १२ र निजी बैंकले १६ प्रतिशत ब्याज दिन्थ्यो बचतको । सहकारी, लघुवित्त, फाइनान्सहरुले २२ प्रतिशतसम्म ब्याज दिने गरेका थिए । बैंकले अहिले २ दशमलव ७५ प्रतिशत ब्याज दिन्छ । अब यो पनि दिनसक्ने अवस्था छैन । दिएको कर्जा उठिरहेको छैन । नयाँ कर्जा गइरहेको छ । बचतकर्तालाई ब्याज दिनुपरिरहेको छ । बैंकलाई पनि अब गाह्रो भइसकेको छ ।

    दैनिक खर्च पनि धान्नुपरेको छ । अन्य मुलुकमा बचतकर्ताले बैंकलाई ब्याज तिर्नुपर्छ । घरजग्गा सरकारले आफ्नो स्वामित्वमा राख्छ । यहाँ त बसीबसी खानका लागि जग्गा बेचेर पैसा राखे, अहिले जग्गा र पैसा डुब्दा रुवाबासी छ ।
    –अनुसा थापा, भक्तपुर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार