देशभर ७ सय ५३ वटा स्थानीय पालिका छन् । त्यसमध्ये ७ सय ४३ वटा पालिकाले आर्थिक वर्ष २०८३–८४ को बजेट ल्याएका छन् । तर, कुनै पनि पालिकाले बजेटमा आम्दानीको स्रोत खोजेको देखिँदैन ।
जग्गा नामसारी कर बढाउने, घरबहाल कर बृद्धि गर्ने, व्यापार–व्यवसाय अनिवार्य दर्ता गर्नुपर्ने र त्यसबाट आउने राजस्व बृद्धि गर्ने भनिएन । न फर्महरुको राजस्व नै बढाइयो । बरु भोटका निम्ति घटाउने काम भएको छ । काठमाडौं महानगरपालिकाले घरबहाल कर १० प्रतिशतबाट सात प्रतिशतमा झारेको छ ।
काठमाडौंको इन्द्रचोक, दरबारमार्ग, भोटाहिटी र ठमेल एरियामा जग्गाको सरकारी मूल्य आनाको ७६ लाख २० हजार छ ।
तर, यहाँ आनाको पाँचदेखि २० करोडसम्म किनबेच हुन्छ । भक्तपुरको कौशलटारस्थित हाइवे एरियामा पर्ने जग्गाको मूल्य आनाको २१ लाख ६५ हजार तोकिएको छ ।
यो मध्यपुर थिमी नगरपालिकाले तोकेको मूल्य हो । सल्लाघारी, चुनदेवीको हाइवेका जग्गा सूर्यविनायक नगरपालिकाले ४० लाख रुपैयाँ तोकेको छ । तर, यहाँ जग्गा आनाको १ देखि डेढ करोडमा किनबेच हुने गरेको छ । राज्यलाई राजस्वमा कति नोक्सानी भइरहेको छ ? यसले पुष्टि गर्छ ।
न्यूरोड, इन्द्रचोक एरियामा एउटा सटरको २४ लाखसम्म भाडा लगाइएको छ । तर, वडामा पाँच हजारमा ल्याइएको भनी सम्झौता गरेका हुन्छन् । अनि वडाले के आधारमा घरबहाल कर उठाउने ? व्यापारीले मासिक भाडा २४ लाख लाख तिरेका हुन्छन् तर वडामा पाँच हजारको सम्झौता हुँदा राज्यले त्यहीँ पाँच हजारको सात प्रतिशत कर पाउँछ ।
कोठाभाडा, सटर खरिदबिक्रीमा पनि यसरी नै राज्यलाई झुक्याइएको छ । राज्य पनि आफ्नो आँखा खोल्न चाहँदैन । संघीय सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८३–८४ को बजेट ल्यायो । विगतमा पाँच लाखभन्दा मूनिको कारोबार गर्दा कर तिर्न नपर्ने व्यवस्था थियो । त्यसभन्दा माथि व्यापार गर्दा भने कर लाग्थ्यो । नयाँ सरकारले सीमा १० लाख तोकिदियो । अब १० लाखभन्दा मूनिको कारोबार गर्नेलाई राज्यलाई कर तिर्नुपर्ने छैन ।
न्यूरोडका व्यापारीहरुले एक दिनमै ३५ देखि ४० लाखको व्यापार गर्छन् । सामान्य व्यापारीले पनि दैनिक ५० हजारदेखि लाखसम्मको व्यापार गर्छन् । तर, उनीहरुले व्यक्तिगत खाताबाट कारोबार गर्छन् । कर तिर्नुपर्ने भएकाले व्यक्तिगत खाताबाट कारोबार गर्ने गरिएको हो ।
यसरी कर छली भइरहँदा राज्य राजश्व उठाउन भन्दा पनि छुट दिनमै केन्द्रित छ । अधिकांश पसल दर्ताबेगर नै सञ्चालन भइरहेको छ । राज्यलाई घरबहाल कर तिर्नुपर्छ भनेर घरधनी पसलको दर्ता गर्न दिँदैनन् । अनि राजस्व कसरी उठ्छ ? सरकारले करको दर तोक्ने र उठाउने अधिकार स्थानीय पालिकालाई दिएको छ । तर, भोटका लागि कर नै उठाउँदैनन् ।
पालिकाका जनप्रतिनिधि राज्यबाट तलबभत्ता खान्छन् तर कर उठाउँदैनन् । न आफ्नो क्षेत्रभित्र भएको सरकारी सम्पत्तिको संरक्षण गर्छन् । करारका कर्मचारी राखेका छन्, ठेक्कापट्टामा सेटिङ गरेका छन् । काम नगर्ने जनप्रतिनिधि किन चाहियो ?
स्थानीय पालिका केलाई आवश्यक छ ? देशभर ३८ हजार जनप्रतिनिधि छन् । उनीहरु ५० हजारदेखि लाखसम्म तलब खान्छन् । तर, उनीहरुबाट राज्यलाई के फाइदा भएको छ ? गाउँगाउँमा सिंहदरबारको नाममा राज्यको ढुकुटी लुट्ने काम भएको छ । वास्तवमा भन्ने हो भने स्थानीय पालिका र प्रदेशको कामै छैन ।
पालिका र प्रदेश राखेर जनतालाई के फाइदा भएको छ ? जनप्रतिनिधिले त तलब खाए, साथै आफ्ना मान्छे सल्लाहकार राखेर राज्यको ढुकुटी लुटिरहेका छन् । प्रधानमन्त्री २९ जना सल्लाहकार राख्ने, मन्त्रीले १३ । सांसदहरु एक स्वकीय सचिवसहित दुई प्रशिक्षार्थी राख्दैछन् । बुढापाकाले भन्छन् नि,‘घाँटी हेरेर हाड निल्नु ।’
नत्र त्यहीँ हाड अड्किएर मान्छेको ज्यान जानसक्छ । राज्यको आम्दानी केही छैन, सल्लाहकारको भने लावालस्कर छ । राजस्वको स्रोत खोज्ने हो भने जताततै छ । तर, राज्य खोज्न चाहँदैन । २० वर्ष पुरानो स्क्रयाप गरेको ट्याक्सीको नम्बर प्लेट एउटाले १५ लाखमा बेच्छ, अर्कोले किन्छ, राज्यले राजस्व पाउँछ पाँच सय ।
ट्याक्सी ३५ देखि ५५ लाखमा किनबेच हुन्छ, राज्यले पाउँछ आठ सय । यातायात व्यवसायीले ३२ वटा चीजमा तिर्नुपर्ने कर चार दशकदेखि बढेको छैन । नयाँ ट्याक्सी, फो स्ट्रोक टेम्पो र कालीमाटीमा ढुवानी गाडीको दर्ता खुलेको छैन । राज्यले यति मात्र नियमन गर्न सक्यो भने कति राजस्व आउँछ ?
आम्दानीको स्रोत नखोज्ने, कर्मचारीको तलब २१ प्रतिशतले बढाउने, सल्लाहकार थुपार्ने । यसरी देश बन्छ ? देश बनाउनका लागि त सर्वप्रथम कर चाहिएला । मुलुकमा ८० हजार करार र ज्यालादारीका कर्मचारी छन् । उनीहरुले सरकारीसरह सम्पूर्ण सेवासुविधा पाउँछन् । नपाउने भनेको पेन्सन मात्र हो । तर, ती कर्मचारीको आवश्यकता नै छैन । कामै गर्दैनन् । न निजामती कर्मचारीको काम छ न करार र ज्यालादारीको । एक जनाले गर्ने कामका लागि दुई दर्जन कर्मचारी छन् । अहिले भएकै निजामती कर्मचारी बढी भयो । बालेन्द्र साह नेतृत्वको सरकार बनेको चार महिना पुगेर पाँच महिना लाग्यो ।
यो अवधिमा सरकारले तीन खर्बभन्दा बढी विदेशी ऋण लिइसकेको छ । पहिलेकै ऋण ३२ खर्ब छ । जेनजी आन्दोलनमा सरकारी र निजी गरी खर्बौंको सम्पत्ति खरानी भएको छ । सरकारले ती जलेको संरचना छोपेर राखेको छ । पुनःनिर्माण गर्ने पैसा नहुँदा ती संरचना छोपेर राखिएको हो ।
सरकारले निर्माण व्यवसायीको ५६ अर्ब भुक्तानी दिन सकेको छैन । स्वास्थ्य बीमाको ४३ अर्ब ड्यु छ । कोरोना बीमाको २४ अर्ब र दुध तथा उखु किसानको सात अर्ब भुक्तानी बाँकी छ । काँग्रेस, एमालेले देश बनाउने नै भनेर पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्यायो ।
माओवादीले पनि देश बनाउने नै आश्वासन दिएर देशबाट राजतन्त्र फाल्यो । १७ हजारको ज्यान गयो, सरकारी सम्पत्ति खरानी पार्यो । अहिले बालेन्द्र र रवि लामिछानेले त्यहीँ गरे । देश बनाउँछौं भन्दै जेनजी उचालेर सरकारी सम्पत्ति खरानी पारियो । बन्यो त देश ? सबैले भनेको त देश बनाउने नै हो ।
तर, किन बनेन ? देश बनाउने नाममा धेरै सत्तामा पुगे । सत्ताको स्वाद चाखे । आफ्नालाई पोसे, मोजमस्ती गरे । तर, देश त जहाँको त्यहीँ रह्यो । देश बन्ने होइन, यस्तै पाराले देश नै नरहने अवस्था बन्यो । पूर्वराजा ज्ञानेन्द्रले भनेझैं हिजो विकास भएन भनियो, अहिले देश नै नरहने अवस्था बन्योकै स्थिति सिर्जना भएको छ ।
राजनीतिक दलहरुले जनतालाई भेडा सोचेका छन् । अहिलेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अर्थविद् हुन् । तर, उनले जनतालाई जादु देखाउन सकेनन् । न उनले पेन्सनमा कर लगाउन सके, न भत्तामा । सरकारले सेयरमा नाफाको मात्रै एक प्रतिशत कर पाउँछ । कुनै व्यक्तिले चार लाखमा सुन किन्छ, अर्कोले बेच्छ तर राज्यले सुको कर पाउँदैन ।
अनुशा थापा, भक्तपुर
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend