काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका छन्।
राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो’, उनले भने
उनले म आशा गर्छु कि गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्नेछौं भने। राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो भने।
‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्’, उनले भने।
मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनले उल्लेख गरे। साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरे।
‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन्, यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ, अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन’, राष्ट्रपति पौडेलले भने।
उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताए। उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यीनै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ भन्नेमा जोड दिए।
‘जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन’, राष्ट्रपति पौडेलले भने।
उनले आज नागरिकले सुशासनसहितको सम्बृद्धि खोजेका छन् भन्दै यसका लागि हाम्रा स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताउनुभयो। उनले अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, उर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौ भने। ‘अनि मात्र आर्थिक विकास र सम्बृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौं, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो, यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौ’, राष्ट्रपति पौडेलले भने।
राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन भन्दै उनले हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ र हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने धारणा व्यक्त गरे।
‘गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु’, उनले भने
राष्ट्रपति पौडेलले अब हामीले प्राप्त उपलब्धीलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्दछ भने। साथै, हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक सम्बृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
‘हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ, हाम्रा शासकीय संरचना र राज्यअंगहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ, हामीले सशासनको प्रत्याभूति दिनै पर्दछ’, उनले भने
हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य भएको धारणा व्यक्त गरे।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीगण,संवैधानिक निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend