Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवाह इन्कार गर्दैमा आत्महत्या दुरूत्साहन गरेको भन्न नमिल्ने सर्वोच्चको व्याख्या


    बिहिबार, जेष्ठ १४ २०८३
    240
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतले एक मुद्दामा विवाह गर्नका लागि इन्कार गर्दा आत्महत्या दुरूत्साहन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ।

    न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले आत्महत्या दुरूत्साहन सम्बन्धी कैलालीको एक मुद्दामा यस्तो व्याख्या गरेको हो। यो फैसला २०८२ मंसिर २९ गते भएको थियो।

    यसको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको हो।

    यसरी सर्वोच्चले सार्वजनिक गरेको फैसलामा आत्महत्या दुरूत्साहन कसुरमा कुनै व्यक्तिले विवाह गर्न इन्कार गर्दैमा दुरूत्साहन गरेको भन्न नमिल्ने व्याख्या गरेको हो।

    २०७७ असोज २ गते दिउँसो कैलाली घोडाघोडी नगरपालिका-५ सेउकलियास्थित फुलबारी सामुदायिक वनको रूखमा निर्मला पहराई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनलाई आत्महत्या दुरूत्साहन गरेको आरोप ललित जागरी र धना साउँदलाई लागेको थियो।

    परिवारले ललित र धनाले मिलेर हत्या गरी झुण्ड्याएकोसम्मको आरोप लागाएको थियो। तर सर्वोच्च अदालतले भने विवाह गर्न इन्कार गर्दा दुरूत्साहन गरेको भन्दै निर्दोष मानिसलाई दोषी मान्न नहुने बताएको छ।

    ‘…प्रतिवादीहरूले मृतकलाई न त मर्न विवश तुल्याउने कार्य गरेको देखिन्छ न त सो कार्य गर्ने मनसायबाट अभिप्रेरित भई योजना गरेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘केबल अहिले विवाह गर्दिनँ भनी गरेको इन्कार तथा फेसबुक म्यासेन्जरमा भएको विवादलाई लिएर गरेको मृतकको आत्महत्यालाई आत्महत्या दुरूत्साहनको कार्य नामकरण गरी निर्दोष व्यक्तिलाई सजाय गर्ने हो भने फौजदारी न्यायमा विचलन र विकृत आउने अवस्था सिर्जना हुने हुँदा यतिसम्मको कुरालाई लिएर भएको आत्महत्यामा प्रतिवादीलाई दोषी करार गर्न मिल्ने हुँदैन।’ फैसलामा भनिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार