Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • धादिङ बस दुर्घटना: १९ यात्रुको मृत्यु, ९ जनाको सनाखत


    सोमबार, फाल्गुन ११ २०८२
    525
    Shares
    तस्वीर साभार: प्रकाश डुम्रेको फेसबुक
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

    पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये एक जना विदेशी नागरिकसहित ९ जनाको सनाखत भएको छ, अन्य १० जनाको भने अझै पहिचान खुल्न सकेको छैन ।

    ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, करिब ४० वर्षीय विवेक बास्तोला, ६३ वर्षीय चन्द्रबहादुर कुँवर, ४० वर्षीय ओम कुमार मल्ल र ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्।

    त्यसैगरी, ५५ वर्षीया विष्णुमाया ढकाल, ४२ वर्षीय लोपसाङ गोले, ४५ वर्षीय हरिप्रसाद सिग्देल र ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।

    सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन् । तीमध्ये एक पुरुषको भने काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल मलेखु र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार बसमा चालकमसहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार थिए । राति करिब १ः३० बजेको समयमा भएको उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली र स्थानीयको सहकार्यमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार