Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओलीकै नेतृत्वमा गृह, अर्थ जस्ता मन्त्रालय लिएर सरकारमा जाने देउवाको गुप्त रणनीति !


    शुक्रबार, फाल्गुन २१ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा दाहाल–नेपाल समूहसँग भन्दा प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहयात्रा गर्ने मार्ग खोजिरहेका छन् । ओलीसँग मिलेर महत्वपूर्ण मन्त्रालय लिने देउवाको योजना छ । पार्टीभित्र ओलीको संसद बिघटनको कदमलाई प्रतिगमन भनी आन्दोलन गर्ने र फेरि उनैसँग मिल्नु नहुने चर्को दबाब उनीमाथि छ ।

    कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु ओलीसँग मिल्नु नहुने पक्षमा खुलेर आएका छन् । तर देउवा भने पौडेल र सिटौला निकटहरुलाई पनि मन्त्रीको ललीपप देखाएर ओलीकै सरकारमा मुख्य मन्त्रालय लिएर सरकारमा जाने दाउमा छन् । प्रधानमन्त्री ओली पनि ठूला मन्त्रालय सबै कांग्रेसलाई दिएर भए पनि दाहाल–नेपाल समूहलाई देखाउने दाउमा छन् ।

    नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवाले ओलीकै नेतृत्वमा मुख्य मुख्य मन्त्रालय लिने गरी भित्रभित्रै तयारी गरेका छन् । गृह, अर्थ, शिक्षा जस्ता मन्त्रालयसहितका १३ वटा मन्त्रालय लिनेगरी ओली–देउवा गठबन्धनको प्रयास भइरहेको छ ।

    ती केन्द्रीय सदस्यका अनुसार पौडेल पक्षका खम्बा प्रकाशमान सिंहलाई गृहमन्त्रीको लोभ देखाइसकिएको छ । देउवाले ओली सरकारको अर्थमन्त्रीमा ब्यापारी विनोद चौधरीलाई पठाउने र शिक्षामन्त्रीमा शैक्षिक माफिया उमेश श्रेष्ठलाई बनाउन खोजेका छन् । संचार डा. मिनेन्द्र रिजाल, रक्षामन्त्री बालकृष्ण खाँडलाई बनाउने गरी ओलीसँग सरकारमा जाने तयारमिा सभापति देउवा लागेका छन् ।

    पछिल्लो समयमा देउवा निकट खाँड पनि ओलीसँग सरकारमा जानु नहुने पक्षमा थिए । त्यही भएर उनलाई पनि मन्त्री दिन लागिएको स्रोतको दाबी छ । बहादुरकृष्ण लामा लगायतका केही सांसदलाई राज्यमन्त्री बनाउने र ओलीसँगै सत्ता सहयात्रा गर्ने देउवाको रणनीतिले पौडेल–सिटौला पक्ष झस्किन पुगेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार