Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • विद्युत् माग्दै ऊर्जा मन्त्री घिसिङलाई मुगुका युवाहरुले दिए दियालो उपहार


    बुधबार, मंसिर २४ २०८२
    440
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मुगुका स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई झरो (दियालो) उपहार दिएका छन् ।

    कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    ऊर्जा मन्त्री घिसिङलाई प्रतीकात्मक रूपमा झरो (दियालो)उपहार दिएर युवाहरूले स्थायी विद्युत् सुविधा माग गरेका छन् ।

    युवाहरूका अनुसार मुगुमा करिब ७० हजार जनसंख्या छ । ७० हजार जनसंख्यामध्ये सुचारु रूपमा विद्युत् सेवा पाउन सक्ने संख्या केवल करिब ३५ सयमा सीमित छ ।

    अधिकांश नागरिकहरू प्राविधिक युगमा पनि सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा जीवन गुजार्न बाध्य रहेको भन्दै उनीहरूले ऊर्जा मन्त्री घिसिङको ध्यानाकर्षण गरेका हुन् ।

    ध्यानाकर्षण पत्रमा उनीहरूले मुगुको विद्युतिकरण केवल पूर्वाधार विकासको विषय नभई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दा भएको उल्लेख गरेका छन् ।

    युवाहरूले मुगुको विशाल भूभाग अझै राष्ट्रिय ग्रिडसँग जोडिन नसक्नु, आपूर्ति अस्थिर हुनु र वितरण संरचना कमजोर रहनु मुख्य चुनौती भएको लेखेका छन् ।

    विद्यालयदेखि अस्पतालका उपकरण, सञ्चार डिजिटल सेवा, स्थानीय उद्योग, कृषि प्रशोधन जस्ता सबै क्षेत्रमा विद्युत् आपूर्ति हुनुपर्ने उनीहरूको माग छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार