काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीका सभापति शेरबहादुर देउवालाई अब सत्ता राजनीतिमा नफस्न आग्रह गरेका छन् । आचार्यले देउवाको कार्यकाल अब केही सातामै सकिन लागेको र बिधानले फेरि सभापति बन्न नदिने कुरा स्मरण गराउँदै आचार्यले पदीय लोभमा नफस्न सुझाव दिएका छन् ।
आफ्नै पार्टीभित्र विवादको भूमरीमा परेका र राज्यका निकायबाट अनुसन्धानको घेरामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गठबन्धन फेर्ने कलाबाजीमा अद्वितीय प्रचण्डको विश्वासमा प्रधानमन्त्री बन्न चाहना राखिरहनु भएको छ र भन्ने प्रश्न गर्दै नेता आचार्यले यदि त्यस्ता चाहना छैनन् भने आफ्नो उत्तराधिकारी स्थापित गर्ने गलत रणनीतिको चक्रव्यूहमा नफस्न आचार्यले सुझाव दिएका छन् । यस्ते सोंचलाई देशले, समयले र कांग्रेस राजनीतिले नस्वीकार्ने पनि उनले उल्लेख गरेका छन् ।
कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न देउवालाई सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनावअघि नै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्गनिर्देशन गर्न आचार्यले आग्रह गरेका छन् ।
कांग्रेसले २०१४ सालमा पार्टीको विशेष अधिवेशनद्वारा घोषणा गरेको देशब्यापी सत्याग्रहको बलमा २०१५ सालको आमनिर्वाचन संभव गराएको स्मरण गर्दै उक्त ऐतिहासिक जिम्मेवारी पूरा गर्न सुवर्णशमशेरले सभापति पदबाट राजीनामा गरी बीपीलाई विशेष अधिवेशनबाट सभापति निर्वाचित गर्ने ढोका खोलिदिएको स्मरण गराएका छन् ।
शनिबार सामाजिक संजालमा आचार्यले लेखेका छन्–‘आदरणीय सभापतिजी, नेपाली कांग्रेस, सादर जयनेपाल ! तपाईमाथि भएको सांघातिक आक्रमणको केही समयपछि भानुभाइलाई तपाईंको स्वास्थ्यस्थिति र भेटने संभावनाबारे सोधेको थिए । परिस्थितिबस भेट हुन सकेन ।
राष्ट्रिय राजनीतिको गंभीर संकटको बेला पार्टीको वर्तमान अवस्था र निर्णयहीनताले क्षुब्ध बनाएकाले आज यो सार्वजनिक अनुरोध गर्दैछु । झण्डै पाँच दशकदेखिको तपाईंसंगको मित्रवत सम्बन्ध संझिएर यो अनुरोध गर्दैछु । चिन्ताग्रस्त मेरो मनमा बारम्बार यो प्रश्न उठिराखेको छ सभापतिजी, पार्टीभित्र आखिर यो प्रत्युत्पादक अलमल किन ?
तपाईंको कार्यकाल अब केही सातामै सकिंदैछ, बिधानले फेरि सभापति बन्न दिदैन । के तपाईं पुनः प्रधानमन्त्री बन्न चाहनुहुन्छ ? कसको सहयोगमा ? ओलीजीको जो आफनै पार्टीभित्र विवादको भुँवरीमा र राज्यका निकायबाट अनुसन्धानको घेरामा हुनुहुन्छ वा प्रचण्डजीको विश्वासमा जो गठबन्धन फेर्ने कलाबाजीमा अद्वितीय हुनुहुन्छ । यदि यी चाहना छैनन् भने आफ्नो उत्तराधिकारी स्थापित गर्ने गलत रणनीतिको चक्रव्यूहमा भने कृपया नफस्नुहोस्, यस्तो सोचलाई देशले, समयले र कांग्रेस राजनीतिले स्वीकार्दैन ।
उदार चित्तले सोच्दा पार्टी राजनीतिमा अब तपाईंका कुनै निजी स्वार्थ बाँकी छैनन् केवल देशको प्रगति र एकताको चाहना अनि पार्टीको गौरवशाली इतिहास र लाखौं कांग्रेसजनको संघर्ष र समर्पणको कीर्तिको रक्षा गर्नु नै तपाईंको संघर्षपूर्ण जीवनको ध्येय बन्न पुगेको छ भन्ने मलाई लाग्छ ।
कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न तपाईंले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनावअघि नै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्गनिर्देशन गर्न जरुरी देख्दछु । यो सत्य हो कांग्रेसभित्र तपाईंको जत्रो अग्लो कद अहिले अरु कसैको छैन ।
त्यसैले कांग्रेसको संकटमोचन गर्न समयले तपाईंकै त्याग र उदारता खोजेको छ । हस्तिनापुर साम्राज्यको आजीवन रक्षा गर्ने प्रतिज्ञा गरेका भीष्मले प्रतिज्ञा पालन गर्ने नाममा अनि ज्ञान र तप साधनाको ओजस्वितालाई गुरु द्रोणाचार्यले नुनको सोझो गर्ने नाममा दुर्योधनको अधर्मी र अत्याचारी शासनको रक्षा गर्न उभिँदा यी मनिषीद्वारा परिवर्तन हुँदै गरेको नयाँ युग, त्यो युगको चेतना र तिनका नायकलाई रोक्ने गम्भीर गल्ति भयो । फलस्वरुप महाभारतको विध्वंस हुनपुग्यो । अहिले हाम्रो देशमा युगले कोल्टे फेर्दैछ । नयाँ युग चेतना र नायक जन्मँदैछन् । तिनको पदचाप र ध्वनी सुन्न जरुरी छ ।
आदरणीय सभापतिजी, सुवर्ण शमशेरजीको सभापतित्वको कार्यकाल असाधारण थियो । समाजवादलाई पार्टीको आर्थिक कार्यक्रम स्वीकार गर्नेदेखि विशेष अधिवेशनको माध्यमबाट राष्ट्रिय राजनीतिको गतिरोध चिर्नेसम्मका घटनामा उहाँको सुझबुझ असाधारण थियो । त्यसबेला २००७ सालको शाही घोषणाले वाचा गरेको विधान परिषदको चुनाव अनिश्चित पारिएको थियो । क्रान्तिका वास्तविक नायक बीपीलाई सत्ताबाट लगातार बाहिर राख्ने षडयन्त्र थियो, कहिले राजाको प्रत्यक्ष शासन कहिले प्रधानमन्त्री फेरिरहने प्रयोगबाट चुनाव ७ बर्षसम्म रोकिएको थियो ।
देशको यो अन्योल चिर्न तत्काल चुनावको घोषणा र चुनाव गराउन सक्ने कांग्रेस नेतृत्वको सरकार राष्ट्रकै एजेण्डा बनेका थिए । राष्ट्रका यिनै मुद्दालाई पार्टीको एजेण्डा बनाएर कांग्रेसले २०१४ सालमा पार्टीको विशेष अधिवेशनद्वारा घोषणा गरेको देशब्यापी सत्याग्रहको बलमा २०१५ सालको आमनिर्वाचन संभव गराएको थियो । यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न श्रध्देय सुवर्णशमशेरले सभापति पदबाट राजीनामा गरी बीपीलाई विशेष अधिवेशनबाट सभापति निर्वाचित गर्ने ढोका खोलिदिनुभएको थियो ।
आज फेरि राष्ट्रमा नयाँ पुस्ताको आन्दोलनपछि उठेका मुद्दालाई समेत सम्बोधन गर्न अनि युगीन चेतना र आकाङ्क्षा लाई पूरा गर्न कांग्रेसले नयाँ नेतृत्व, कार्यशैली र व्यापक नीतिगत सुधार प्रस्तावित गर्न जरुरी भएको छ जसका लागि तपाईंको निर्णायक अग्रसरता तपाईंको राजनीतिक जीवनको महत्वपूर्ण उपलब्धि हुनेछ ।’

काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend