Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सात वटा जेनजी समूहबीच एकता, प्रधानमन्त्री कार्कीको राजीनामा माग


    सोमबार, कार्तिक २४ २०८२
    820
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सात वटा जेनजी समूहले एकता घोषणा गर्दै आफू र जनताकोे भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई उनीहरुले संघर्ष गर्ने अन्तिम चेतावनीसमेत दिएका छन् ।

    एकतापछि बनेको ‘जेनजी एकता अभियान नेपाल’की संयोजक सुप्रिया नेपालीले सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा सम्लग्न भएको नाममा जेनजीहरुलाई छानीछानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।संयोजक नेपालीले आफूहरुको मर्म अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्कीको राजिनामासमेत मागेकी छन् ।

    पूर्व प्रहरी माहानिरीक्षक सर्बेन्द्र खनालले जेनजीको बलबाटै बनेको सरकारले उनीहरुलाई नै आतंकित बनाउन थालेको भन्दै आक्रोश व्यक्त गरे । खनालले विद्रोहले नेपालका भ्रष्ट र दलालहरुलाई सच्चिन चेतावनी दिएको तर त्यस्तो नदेखिएको बताउँदै भने–‘अहिलेको सरकार र ओली सरकारबीच कुनै फरक भएन, यसले गोली हान्न आदेश दिने ओली र उहाँको सरकारका जिम्मेवारलाई पक्रेर अनुसन्धान गर्नुपर्छ ।’

    जेनजी एकता अभियान नेपालका प्रवक्ता विरजन विश्वकर्माले वर्तमान सरकारले विभिन्नि समूहमा विभक्त जेन्जीहरुलाई एकता गरेर आफूहरुले सरकारलाई खबरदारी गर्ने जानकारी गराए । प्रवक्ता विश्वकर्माले एकता भएका जेनजी परिषद, जेनजी २.०, जेनजी पिपुल, रियल जेनजी मुभमेन्ट नेपाल, जेनजी नेपाल, एनटेक–जेड, र अछाम जेन्जी गु्रप गरेर ७ वटा समूहबीच एकता भएको जानकारी दिए ।

    सल्लाहकार मेघराज खत्रीले देशको विषम परिस्थितिलाई मध्यनजर गरेर सबै जेनजी एक ठाउँमा आउने अभियान चालएकोप्रति खुसी व्यक्त गरे । वर्तमान सरकारमा पनि विगतमा जस्तै देशीविदेशी शक्तिले खेल्न थालेकोप्रति चनाखो हुनसमेत जेन्जीलाई सुझाव दिए ।

    जेनजी कुन्दन कुशवाहले पछिल्लो समयमा सरकारले परिवर्तनकारीहरुमाथि नै डण्डा बर्षाउन लागेको भन्दै सबै एक ठाउँमा आएर संघर्ष गर्नुपर्ने धारणा राखे ।

    मिनबहादुर खड्काले विभिन्न समूहमा विभक्त भएका जेनजीहरु एक ठाउँमा आएर कुशासन र भ्रष्टाचारविरुद्ध लड्नुपर्ने धारणा राखे । खड्काले वर्तमान अन्तरिम सरकारले आफूहरुका माग पूरा गर्न नसकेको भन्दै सरकारको औचित्य समाप्त भइसकेकाले प्रधानमन्त्रीको राजीनामा मागे ।

    राप्रपानिकट जेनजी रविकिरण हमालले वर्तमान सरकारले जेनजीका मर्म र भावना अनुसार काम नगरेको भन्दै कार्कीले राजीनामा दिनुपर्ने बताए ।

    सल्लाहकार राजन घिमिरे, बीबी पराजुली(बद्री), गणेश भट्टराई, डा.लक्ष्मी ओली, सुशीला खत्री र माधव ठकुरीले सबै जेनजी एकमत हुँदै संघर्षमा उत्रन सुझाव दिए ।

    एकता कार्यक्रममा प्रकाश रावल, सुशील भणडरी, कृपा काफ्ले, हेमराज न्यौपाने, शिशिर महरा, रामचन्द्र जोसी, सुरेन्द्र घर्ती, सुशील सिंह, जीवन सोडारी र विनोद सोडारीले सबै जेनजीहरु एकतामा आएर माग पूरा गर्न दबाब दिनुपर्ने धारणा राखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार