Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहन आईजीपी अर्यालको निर्देशन


    शुक्रबार, कार्तिक २१ २०८२
    705
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहन निर्देशन दिएका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा संचालित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सो कुरा बताउँदै जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको सानो गल्तीले व्यक्तिगत मात्र नभई संगठनको छविमा समेत आँच आउने हुँदा हरेक कदममा अनुशासित, विवेकपूर्ण, सम्यमता र जिम्मेवार भई अघि बढ्न समेत निर्देशन दिएका छन् ।

    दिक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिंदै विभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत हुने प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुकासाथै उज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

    उनले सीमित स्रोतसाधनका बावजुद अहोरात्र खटिई नागरिक जीवनमा रहेकाहरुलाई समर्पित राष्ट्रसेवक बनाउन अथक प्रयास र मेहनतको मुक्तकण्ठले प्रशिक्षक वर्गको प्रशंसा गर्दैै आफ्ना सन्ततिहरुलाई राष्ट्रसेवाको उच्च मार्गमा पु¥याउने सम्पूर्ण अभिभावकप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

    महानिरीक्षक अर्यालले आधारभूत तालिमले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई इमान्दार, कर्तव्यनिष्ठ र सक्षम जुनियर अधिकृतको रुपमा निर्माण गरेको र तालिम दौरानमा सिकेका कुराहरुलाई कार्यक्षेत्रमा सही तरिकाले सदुपयोग गर्नुपर्ने बताए ।

    उनले आधारभूत तालिम समापन गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई पेशागत जीवनको पहिलो खुड्किलो पार गरी राष्ट्रसेवामा प्रवेश गरेको बताउँदै कार्यक्षेत्रमा आईपर्ने चुनौतीहरुलाई सामना गर्न लिएको प्रत्येक कार्य, निर्णय र व्यवहारले व्यक्तिगत छविसँगै संगठनको प्रतिष्ठाको समेत प्रतिनिधित्व गर्ने बताएका छन् ।

    तालिम भनेको गन्तव्य होइन मार्ग हो, यही मार्गलाई आत्मसात गर्दै सशस्त्र प्रहरी कर्मचारीहरु जिम्मेवार, सक्षम र दक्ष अधिकृतको रुपमा रुपान्तर हुनुपर्ने कुरामा जोड दिनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो–‘तपाई र तपाईको परिवारको गौरवले त्यसवेला सार्थकता पाउने छ, जब राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्यसम्पादनको दृष्टान्त प्रस्तुत गर्न सक्नुहुनेछ ।’

    महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले देशको विषम परिस्थिति, शान्ति प्रक्रिया तथा बदलिंदो सुरक्षा चुनौतीहरुमा सहज ढंगले रुपान्तरण भई देशको अब्बल सुरक्षा निकायको रुपमा स्थापित भएको बताउँदै वर्तमान सुरक्षा चुनौतीहरु बहुआयामिक र जटिल रहेको हुँदा यस्ता चुनौतीहरुलाई सामना गर्न सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन जस्ता कार्यहरु सबैको मूलमन्त्र बनाउन सकियो भने कार्यक्षेत्रमा सफलता मिल्ने बताए ।

    उनले हामी देशको रक्षक हौँ भन्ने भावनालाई गौरवका साथ मनमा लिई देश र जनताको सेवा र सुरक्षामा कटिबद्ध भई लाग्नुपर्ने बताउँँदै आगामी फागुन २१ गतेको चुनावलाई भयरहित वातारणमा सम्पन्न गर्न सम्पूर्ण कर्मचारीहरु तयारी हालतमा रहन निर्देशन दिएका छन् ।

    सोही अवसरमा महानिरीक्षक अर्यालले तालिमका सर्वप्रथम, कवाज र शारीरिक सहिष्णुतातर्फ उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक विष्णुकुमार तामाङ र चाँदमारीतर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक अमन सहनीलाई पुरस्कार प्रदान गरेका थिए ।

    गत साल कार्तिक ५ गतेबाट संचालन भएको उक्त तालिम ४७ जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।

    कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, तालिम शिक्षालयका समादेशक, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृतहरु, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय भद्रभलादमी तथा प्रशिक्षार्थीका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार