Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सामाजिक सञ्जालमाथि प्रतिबन्धः लोकतान्त्रिक मूल्यमान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न


    शनिबार, भाद्र २१ २०८२
    905
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरेका छन् ।

    महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ–‘दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो । नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको छ । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य कार्य हो ।

    सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं । यो कदमले लोकतान्त्रिक मूल्यमान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ ।
    सरकारको कदमले विदेशमा रहेका लाखौँ नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको मात्र छैन, बालबालिकाको सिकाईमा दीर्घकालीनरुपमा प्रभाव पर्ने देखिएको छ । हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको छ ।

    नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन सक्दैन । हामी सरकारसँग बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गर्दछौँ ।
    सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सरकारलाई आह्वान गर्दछौँ ।’

    साथै महासंघका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरुको तर्फबाटसरकारलाई दवाव दिनका लागि मिति २०८२ भदौ २२ गते आइतवार दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको आह्वान गरिएको छ । उक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधरहरुलाई आग्रह गरिको छ ।

    विज्ञप्तिमा पत्रकार महासंघका पूर्वअध्यक्षद्वय तारानाथ दाहाल, गोविन्द आचार्य, पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्ट र पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् ।

    पूर्वउपाध्यक्ष उदय जिएम, पूर्वमहासचिव रोशन पुरी पूर्वसचिवहरु ध्रुव लम्साल, प्रकाश थापा, पवन आचार्य, लक्ष्मी पुन, धमेन्द्र कर्ण, पूर्वलेखासमिति संयोजक लेखनाथ न्यौपानेले पनि बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

    त्यसैगरी, पूर्वकेन्द्रीय सदस्यहरु अजय फुँयाल, उज्वल आचार्य, प्रकाश तिमल्सिना, दिपेन्द्र कुँवर, माधव दुलाल, ध्रुव रावल, भिषण राई, माधव पौडेल, विकाश कार्की र कृति भट्टराईले पनि बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार