Nepal Face
  • आइतबार, १० साउन २०८३
  •   तरकारीखेतीबाट वार्षिक तीन लाख बचत   


    बिहिबार, भाद्र १९ २०८२
    595
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरीका किसान महादेव चौधरीले दुई दशकदेखि निरन्तर तरकारीखेतीमार्फत जीविकोपार्ज गर्दै आउनुभएको छ । सामान्य लेखपढ गर्न पनि नगर्नुभएका चौधरी अहिले गाउँका एक सफल व्यवसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । कमैया प्रथा अन्त्य भएसँगै सरकारले पुनःस्थापनाका क्रममा उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा उहाँले तरकारीखेती सुरु गर्नुभएको हो ।

    पछि थप १० कठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरेको चौधरीले बताउनुभयो । अहिले उहाँको बारीमा लौका, फर्सी, काँक्रो, करेलालगायत मौसमी तरकारी उत्पादन भइरहेका छन् । मौसमी तथा र बेमौसमी दुवै किसिमका तरकारीखेती हुने उहाँको भनाइ छ ।

    चौधरीले काउली, गोलभेँडा, भण्टा, खुर्सानी, आलु, बोडीलगायत खेती गरिरहेको बताउँदै तरकारीका बेर्ना पनि बिक्री गरी आम्दानी लिइरहेको उल्लेख गर्नुभयो । “बाल्यकालमा जमिन्दारको बाख्रा र गोरु चराउन थालेँ, ठूला भएपछि कमैया बसेर हलो जोत्न थालेँ, विद्यालय कस्तो हुन्छ थाहै भएन”, उहाँले भन्नुभयो, “दातृ निकायले सञ्चालन गरेको कृषि तालिममा सहभागी हुने अवसर पाएपछि जीवनमा परिवर्तन आएको हो । तालिममा पाएको ज्ञानले तरकारीखेतीलाई व्यवस्थित रूपमा सुरु गरेको हुँ ।”

    तरकारीखेतीबाट जीविकोपार्जन भइरहेको भन्दै उहाँले वार्षिक रु तीन लाख बचत हुने जनाउनुभयो । चौधरीले यहीँ आम्दानीले परिवारको सम्पूर्ण खर्च सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जीविकोपार्जनका लागि अरुको मुख ताक्नुपरेको छैन, खेतीकै आम्दानीबाट सहज रूपमा परिवार पाल्न सकिएको छ ।”

    कमैया बस्दा विवाह गरेका चौधरीलाई परिवार पाल्ने ठूलो चुनौती थियो । तरकारीखेतीलाई आधार बनाएर उहाँले जीवनलाई नयाँ मार्ग दिनुभयो । “यसकै आम्दानीबाट पक्की घर निर्माण गरेका छौँ । छोराका लागि अटो खरिद गरेर दिएको छु । सोही अटोमार्फत बजारसम्म तरकारी ढुवानी गर्ने र भाडामा काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

    खेतीका लागि चौधरीले सरकारबाट अनुदानमा पावरटिलर प्राप्त गर्नुभयो । सिँचाइ सुविधा बढाउन बोरिङ राखेको बताउँदै उहाँले यसले खेती उत्पादनमा सहयोग पुगेको धारणा राख्नुभयो । “तरकारीखेतीमा मेहनत गरे पनि कहिलेकाहीँ भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “भारतबाट सस्तो तरकारी आउँदा लागत पनि नउठ्ने गरी बेच्नुपर्ने अवस्था आउँछ ।” यसले किसानलाई निरुत्साहित बनाउने गरेको उहाँको दुखेसो छ ।

    अग्र्यानिक उत्पादनमा जोड दिएर बजारमा छुट्टै पहिचान कायम गर्ने लक्ष्य बनाएको चौधरीको भनाइ छ । उहाँलाई अहिले गाउँमा ‘मिहिनेती किसान’ भनेर चिन्छन् । उहाँ खेतीमा मात्रै सीमित नभई गाउँलेलाई आधुनिक कृषि पद्दति अपनाउन प्रेरित पनि गर्दै आउनुभएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार