काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापनाका लागि विचार मिल्ने इमान्दार शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले समाजवादी आन्दोलनलाई अगाडि बढाउने अबको सङ्कल्प हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले जनयुद्धमा महिलाको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, “जनयुद्धमा हजारौँ महिलाको सहभागिता नभएको भए सङ्घीय लोकतान्त्रिक संविधान, गणतन्त्र र राज्यका निकायमा महिलाको ३३ प्रतिशत उपस्थिति सम्भव थिएन ।” अध्यक्ष दाहालले जनताको सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका षडयन्त्र परास्त गर्न परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । “सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्ध भइरहेको षड्यन्त्रविरुद्धको सङ्कल्प लिनुहुनेछ”, उहाँले भन्नुभयो । उहाँले संविधानले चाहेअनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताउनुभयो ।
तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयनभन्दा संविधानविरूद्ध गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धि उल्टिने खतरा देखिएको छ ।” अध्यक्ष दाहालले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौँ–जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।” माओवादीका उपाध्यक्ष पम्फा भुसालले पूर्ण महिला अधिकार स्थापनाका लागि वैज्ञानिक समाजवादमा जानुपर्नेमा जोड दिँदै प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
“उत्पादनको स्रोतमाथिको समान पहुँच, समान क्षमता र योगदानबाटमात्रै महिला मुक्ति सम्भव छ”, उहाँले भन्नुभयो, “महिलामाथि हुने विभेद भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वर्गीय रुपमा हटे पनि महिला पुरुषबीचको भेदभाव चिन्तनको समस्या हो, यो लामो समयसम्म रहन्छ, उक्त चिन्तनकाविरुद्ध सङ्घर्ष गर्नुपर्छ ।” माओवादी नेत्री शशि श्रेष्ठले संविधानमा व्यवस्था भएका महिला हक अधिकार कार्यान्वयन गर्न सम्पूर्ण महिला एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
“सबै प्रकारको विभेद अन्त्य गरेर समतामुलक नेपाल निर्माण गर्न क्रियाशील हुनुपर्छ, समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको प्रतिनिधित्व हुनुपर्छ”, उहाँले भन्नुभयो, “संविधान संशोधनका क्रममा महिलाका अधिकार खोसिन सक्छ, यसतर्फ सबैले खबरदारी गर्नुपर्छ ।” माओवादी नेत्री एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको तथ्य प्रस्तुत गर्दै महिलालाई थप अधिकार दिन कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले अल्किना बमद्वारा लिखित पुस्तक ‘जुनकिरी हराएको रात’को लोकार्पण गर्नुभएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend