काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ मा आगामी कात्तिक १७ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँगको सम्बन्धबिच्छेद कागज सार्वजनिक गरेका छन् ।
आइतबार रास्वपाले थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि बहुविवाहको बिषय मिडियाबाट बाहिर आएपछि मंगलबार उनले आफ्नो जीवन खुल्ला कितावझैं सार्वजनिक भएको सामाजिक संजालमा स्पष्ट पारेका छन् । पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपनि बच्चाका कारण सम्बन्ध तिक्ततापूर्ण बनाउन नचाहेको थापाले उल्लेख गरेका छन् ।
डा. थापाले रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार भएको समेत उल्लेख गरेका छन् । नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको भए पनि पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्ने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–रूपन्देही– ३ मा ९६ वर्षकी मेरी बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु ।
खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु ।
प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण । म व्यक्ति लेखजंग थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला । तर मैले बुझेको छु यो आक्रमण ममाथि होइन, यो बेथिति र विसङ्गतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित आक्रमण हो । त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ ।
आदरणीय आमाबुबा दाजुभाइ र दिदीबहिनीहरू, एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन् । व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ । परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो ।
मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्शसमेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ ।
एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन । दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन् । तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनुहुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु । यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नुहुँदैन भन्ने कुरामा म सचेत छु ।
सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन । सम्बन्धविच्छेद भन्नेबित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो ? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन, म बाँचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु । त्यसमा मलाई कसैको अनुमति लिनुपर्दैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ । पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।
म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही (३ को उम्मेदवार म हो भनेर? रुपन्देही (३ को उम्मेदवार त पुनम,जेबी ,रचना,सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु । तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ ।
म त्यही यात्रामा अगाडि बढेको छु । रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ । नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend