Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजामती विधेयक भोलि पास हुने सभापति दाहालको दावी


    सोमबार, भाद्र १६ २०८२
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक भोलि पास हुने बताएकी छन् ।

    आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको विधायन व्यवस्थापन समितिको बैठकमा कुरा नमिलेपछि निजामती सेवा विधेयक पास हुन सकेन ।

    बैठकपछि सभापति दाहालले भनिन्, ‘निजामती विधेयक भोलि हामी पास गर्छौँ ।’ उनका अनुसार विधायन व्यवस्थापन समितिको बैठक भोलि बिहान ९ बजेका लागि राखिएको छ ।

    निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा गएको विधेयक हो । प्रतिनिधि सभाबाट पास भएर प्राप्त भएको विधेयक राष्ट्रिय सभाले दुई महिनाभित्र पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    संविधानको धारा १११ को उपधारा ५ मा यस्तो व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभाले पारित गरी राष्ट्रिय सभामा पठाएको अर्थ विधेयक बाहेक अन्य विधेयक राष्ट्रिय सभाले आफू समक्ष प्राप्त भएको दुई महिनाभित्र पारित गरी वा सुझाव सहित फिर्ता पठाउनु पर्नेछ ।’

    यो विधेयक १५ असार २०८२ मा प्रतिनिधि सभाले पास गरेर राष्ट्रिय सभामा पठाएको थियो । यसअनुसार विधेयक भोलिसम्म पास गरिसक्नुपर्ने बाध्यतामा राष्ट्रिय सभामा छ । अन्यथा प्रतिनिधि सभाले विधेयक अगाडि बढाउन सक्छ । यस्तोमा प्रतिनिधि सभाले निर्णय गर्न सक्नेछ ।

    संविधानको धारा १११ को उपधारा ५ मै लेखिएको छ, ‘त्यस्तो समयावधिभित्र राष्ट्रिय सभाले सो विधेयक फिर्ता नगरेमा प्रतिनिधि सभाले तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत सदस्यहरूको निर्णयबाट सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार