Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • राज्य व्यवस्था समितिको सभापतिबारे सभामुख घिमिरेले गरे काँग्रेससँग छलफल


    आइतबार, भाद्र ८ २०८२
    675
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे सत्तारुढ दल नेपाली काँग्रेससँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।

    प्रतिनिधि सभा नियमावली अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने अन्तिम दिन हो । सोही बाध्यतालाई ख्याल गर्दै सभामुख घिमिरेले विगत केही दिनदेखि निरन्तर छलफल गरिरहेका छन् ।

    आजै बिहान पनि काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग सभामुख घिमिरेले छलफल गरेका थिए ।

    अहिले पुनः उनीहरू सिहंदरवारमा छलफल गरिरहेका छन् । सभामुखको कार्यकक्षमा प्रमुख सचेतक घिमिरेसहित सांसद दिलेन्द्र बडू पनि सभामुख घिमिरेसँग छलफलमा जुटेका हुन् ।

    गत शुक्रबार प्रतिनिधि सभाको बैठक लगत्तै सभामुख घिमिरेले नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग एक्ला एक्लै र संयुक्त छलफल गरेका थिए ।

    सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकसँग समेत छलफल गरेका थिए ।

    यो समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

    प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा संसदीय विषयगत सभापतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने व्यवस्था छ ।

    संसदीय विषयगत समितिको सभापतिको पद रिक्त हुन आए १५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान नियमावलीको नियम १७७ को उपनियम ५ मा छ ।

    यो बाध्यकारी व्यवस्थाको पालना गर्ने हो भने यही भदौ ११ गतेसम्म सभापतिको निर्वाचन भइसक्नुपर्छ ।

    संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन हुने भन्दा ४८ घण्टा अगाडि सूचना निकाल्नुपर्ने प्रावधान प्रतिनिधि सभा नियमावलीमा छ । यसअनुसार आज नै निर्वाचनको तालिका सार्वजनिक गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार