Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाही कारागारमा क्षमताभन्दा दोब्बर कैदी, व्यवस्थापनमा संकट


    सोमबार, साउन २६ २०८२
    680
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित कारागार कार्यालय क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राख्नुपरेपछि व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको छ ।

    १६० जना पुरुष र ५० जना महिला कैदी राख्ने क्षमता भएको कारागारमा हाल ३३३ जना पुरुष र ३८ जना महिला कैदीबन्दी रहेका छन् । महिला कैदीसँगै पाँच बालबालिकासमेत छन् । पुरुष कैदी कारागारको क्षमताभन्दा १७७ जना बढी भएका कारण बस्ने र सुत्ने ठाउँ अभाव भएको निमित्त कारागार प्रशासक असरफ हुसेन गद्धीले जानकारी दिए ।

    कैदीबन्दी बढी भएकाले बरण्डा, सिँढी र पाल टाँगेर सुताउने अवस्था आएको कारागार प्रशासनको भनाइ छ । ‘ठाउँ सानो भएकाले बढी कैदी हुँदा गर्मी बढ्छ, धेरैपटक बाहिरै पाल टाँगेर सुताउँछौं’ हुसेनले भने ।

    मलंगवा कारागारमा सर्लाहीसहित रौतहट, महोत्तरी, बारा, सिन्धुली, सिरहा, सप्तरीलगायत २० भन्दा बढी जिल्लाका कैदीबन्दी रहेका छन् ।

    कैदीबन्दीका अगुवा एवं चौकीदार मनोजकुमार चौधरीले साँघुरो ठाउँकै कारण बस्न र सुत्न समस्या भएको बताए । ‘अरु समस्या छैन तर खेलकुद वा हिँड्डुल गर्ने ठाउँ नै छैन’ उनले भने ।

    हाल कारागारभित्र कैदीबन्दीले गलैचाँ बुन्ने, सिलाइकटाइ र मुढा बनाउने काम गरिरहेका छन् । कैलाली कारागारमा भएको जस्तो घटना मलंगवामा नभएको चौधरीको भनाइ छ ।

    मलंगवा कारागारमा हाल प्रहरी नायब निरीक्षक ९सई० को नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार