काठमाडौं । होटलमा काम लगाइदिने बहानामा भारत पुर्याएर शृंखलाबद्ध रूपमा मिर्गौला झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मानव अङ्ग व्यापारको यो संगठित र अन्तरदेशीय अपराध घटनामा काभ्रेपलाञ्चोक र नुवाकोटका तीन जना व्यक्ति संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका-१० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ का २४ वर्षीय समिर नेपाली र सोही पालिकाको वडा नम्बर ४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन्। उनीहरूलाई काठमाडौं र काभ्रेबाट पक्राउ गरिएको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
पंगेनीका अनुसार पक्राउ परेकाले २०८२ जेठमा एक पुरुषलाई काठमाडौं कोटेश्वर आकाशेपुलनजिकबाट कलंकीबाट भैरहवाको सुनौली बोर्डर हुँदै भारतको चण्डीगढ पुर्याएका थिए।
उनीहरूले पीडितलाई चण्डीगढको एक होटलमा मासिक १० देखि २० हजार भारु कमाई हुने लोभ देखाएर हिँडाएका थिए। चण्डीगढस्थित अपार्टमेन्टमा राखेर आरोपीले हाल नाम नखुलेको क्लिनिकमा एउटा मेडिकल चेकअप गराए।
‘त्यहाँ करिब एक महिना राखेपछि ‘तिमीलाई छ लाख रुपैयाँ दिइन्छ, मिर्गौला निकालिसकेपछि नेपाल फर्किँदा पैसा दिन्छौं’ भनेका थिए,’ पीडितलाई उद्धृत गर्दै एसएसपी पंगेनीले भने।
तर, जब पीडितले मिर्गौला दिन अस्वीकार गरे, त्यसपछिको कथा भयावह बन्यो। ‘त्यतिबेलासम्म लागिसकेको खर्च तिर्नुपर्ने भन्दै डर, त्रास र करकापमा पारेर पीडितलाई २०८२ साउन ९ गते बायाँ मिर्गौला झिकियो,’ पंगेनीले भने ।
मिर्गौला निकालिएको केही दिनपछि आरोपीहरूले यी पीडितसहित अन्य चार जनालाई नेपाल पठाएका थिए। उनीहरू साउन १५ गते काठमाडौं फर्किएपछि भने पीडितले आफूले झेलेको पीडा ब्युरोमा पोखे, जाहेरी दिए।
जाहेरीपछि ब्युरोले विशेष अपरेसन चलाएर साउन २१ गते समिर नेपालीलाई नयाँ बसपार्क, मित्रनगरबाट, राकेश नेपालीलाई टोखा नगरपालिका-३ बानियाँटारबाट र साउन २२ गते राजकुमार परियारलाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको पंगेनीले बताए ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा आरोपीहरू लामो समयदेखि नेपाल र भारत दुबै देशमा बसेर योजनाबद्ध रूपमा मिर्गौलाको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ ।
पक्राउ परेका व्यक्तिले पीडितहरूको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर चण्डीगढ पुर्याउने गरेका थिए। ‘अहिलेसम्म यी आरोपीले ५०-६० जनालाई भारत लगेर मिर्गौला झिकिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ पंगेनी भन्छन्, ‘अन्य पीडितलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।’
‘भारतमा रोजगारीको प्रलोभन देखाउने, नेपालबाट भारतसम्म ओसार्ने र क्लिनिक पुर्याएर मेडिकल चेकअप गरी मिर्गौला झिक्ने काममा यही गिरोहको संलग्नता देखिएको छ,’ पंगेनी भन्छन् ।
ब्युरोका अनुसार यो अपराधलाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ परेका तिनै जना अभियुक्तलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ ।
‘यो केवल एउटा घटना होइन, अन्य पीडितको खोजी कार्य जारी छ,’ पंगेनी भन्छन्। ब्युरोले घटनासँग सम्बन्धित अन्य फरार व्यक्तिहरूको खोजी पनि गरिरहेको पंगेनीले बताए ।
मानव अङ्ग तस्करी न संगठित अपराध हो, यो गम्भीर मानव अधिकार हनन् समेत हो। यस घटनाले गरिबी, बेरोजगारी र सामाजिक असमानताको शिकार बनेका नेपाली युवाहरूलाई कसरी अन्तरदेशीय गिरोहले लक्षित गरिरहेका छन् भन्ने कुराको चित्र प्रस्तुत गरेको छ।
मिर्गौला तस्करी नेपालमा बढ्दो चिन्ताको विषय बन्दै गएको अहिलेको घटनाले देखाएको पंगेनीले बताए। कानुनी कठोरता र अन्तरदेशीय सहकार्य अझ प्रभावकारी नहुँदासम्म यस्ता अपराध नियन्त्रण कठिन हुने देखिएको पंगेनी बताउँछन् ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend