Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाली त एसपीले पनि गरे, मुद्दा चाहिँ नेतामाथि लगाइयो भन्दै सर्लाहीमा हंगामा


    आइतबार, असार २२ २०८२
    3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि स्थिति तनावग्रस्त बनेको छ । जसपा कार्यकर्ताहरू शनिबार मलंगवामा सडकमा उत्रिएका छन् ।

    सर्लाहीका जिल्ला अध्यक्ष शम्भुप्रसाद यादवको नेतृत्वमा भएको प्रदर्शनमा सयौं कार्यकर्ताहरू सहभागी थिए । उनीहरू अशोक यादवमाथिको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सडकमा ओर्लिएका हुन् ।

    विवादको सुरुवात बिहीबार राति मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भएको हो । रातिको समयमा सरकारी चेक काटिएको विषयमा अध्यक्ष यादव र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काबीच भनाभन भएको थियो ।

    जसपा कार्यकर्ताहरूको दाबी अनुसार, सुरुमा एसपी खड्काले अशोक यादवलाई गाली गरेका थिए । त्यसपछि अशोक यादव पनि प्रतिकार गर्दै गालीगलौजमा उत्रिएका थिए । तर, उल्टै प्रहरीले अध्यक्ष यादवमाथि सरकारी काममा बाधा र्पुयाएको र सरकारी सम्पत्ति तोडफोड गरेको आरोप लगाउँदै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो ।

    जसपा सर्लाहीका अनुसार, प्रहरीले अशोक यादवलाई फसाउन नियोजित रूपमा मुद्दा लगाएको हो । ‘पहिला गाली गर्ने एसपी, उल्टै मुद्दा लगाउने प्रहरी’ आन्दोलनमा सहभागी कार्यकर्ताहरूको गुनासो छ ।

    पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सलेमपुरस्थित यादवको निवासमा प्रहरी खटाएको थियो । तर, स्थानीयवासीले प्रहरीको उपस्थिति अस्वीकार गर्दै गाडीमा तोडफोड गरेका थिए । स्थिति तनावग्रस्त भएपछि सर्लाहीमा झण्डै एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    अध्यक्ष यादवलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । यता, जसपाले भने अशोक यादवमाथिको मुद्दा खारेज नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार