Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोडैना गाउँपालिकामा ८ लाख रुपैयाँको ‘भ्रमण खेल’: न उद्देश्य, न प्रतिवेदन !


    शुक्रबार, असार २० २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकामा ‘भ्रमण खर्च’को नाममा करोडौंको बजेट जाने तर कहाँ खर्च भयो, कसका लागि खर्च भयो भन्ने अत्तोपत्तो नभएको खुलासा भएको छ ।

    महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ मा मात्रै आठ लाख रुपैयाँभन्दा बढी रकम भ्रमण खर्चमा सकाएको उल्लेख गरेको छ । तर त्यो खर्च कुन प्रयोजनमा भयो, कति जनप्रतिनिधि वा कर्मचारी कहाँ गए भन्ने कुनै अभिलेखै नरहेको प्रतिवेदनमा औंल्याइएको छ ।

    महालेखाले गाउँपालिकाका कतिपय भ्रमण आदेशमा भ्रमणको उद्देश्य नै उल्लेख नगरेको उल्लेख गरेको छ । कानुन अनुसार भ्रमण खर्च पारदर्शी बनाउन अभिलेख अनिवार्य राख्नुपर्ने, भ्रमणपछि प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ। तर, यहाँ न आदेशको विवरण छ, न प्रतिवेदन नै । प्रतिवेदन बिना नै रकम भुक्तानी गरिएको देखिएको छ ।

    महालेखाले यस्तो खर्चलाई गम्भीर कमजोरी भन्दै चेतावनी दिएको छ । अबदेखि अभिलेख नहुने, प्रतिवेदन नपेस हुने खर्चलाई स्वीकृत नगर्न कडाइका साथ सुझाव दिइएको छ । महालेखाले लेखापरीक्षणमा समेत असर पर्ने स्पष्ट संकेत दिएको छ ।

    यता, गाउँपालिकाका पदाधिकारी भने प्रतिवेदन बाहिरिएपछिसमेत मौन छन् । स्थानीय बासिन्दाहरू भने आक्रोशित छन् । उनीहरू भन्छन्, “गाउँ सुधार्नु त परै जाओस्, नेताहरूलाई राजधानी घुम्ने लहड मात्रै देखिएको छ ।”

    गाउँमा शिक्षा, स्वास्थ्य, पूर्वाधारजस्ता आवश्यकता ओझेलमा पर्दा, भ्रमण र भत्ता मौजमा भएको भन्दै नागरिक असन्तुष्टि चुलिएको छ ।

    महालेखाको टिप्पणीले कोडैना गाउँपालिकाको बजेट अनुशासन, प्रशासनिक जवाफदेहिता र स्थानीय सरकारको नैतिकतामाथि ठूला प्रश्न उठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार