Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • असार मसान्तसम्म बक्यौता भुक्तानी गर्न दूध किसानलाई निर्देशन


    शुक्रबार, असार १३ २०८२
    910
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभरका दूध उत्पादक कृषकको करिब रु। तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ ।

    मन्त्रालयले डेरी उद्योगको छाता संगठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो । निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि किसानले बिक्री गरेको दूधको भुक्तानी नगरेकाले उनीहरू समस्यामा परेका छन् ।

    त्यस कार्यले उत्पादन तथा बजार आपूर्ति प्रभावित हुन सक्ने हुँदा चालु आर्थिक वर्षको असार मसान्तसम्म यथाशीघ्र भुक्तानी गर्नुपर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

    दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सबै प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरेको डेरी एसोसिएसनलाई सरकारले विभिन्न सहुलियत तथा प्राविधिक, रचनात्मक सहयोग उपलब्ध गराउँदै आएको छ ।

    दुग्ध विकास संस्थानले गत पुस मसान्तसम्मको किसानको बक्यौताबापत रहेको करिब रु। ९० करोड उपलब्ध गराइसकेको छ भने बाँकी रकम भुक्तानीको प्रक्रिया सुरु गरेको सूचना अधिकारी जोशीले जानकारी दिए ।

    मन्त्रालयले पशु तथा कृषि बीमा, बीउबिजन, मल, कृषि उपकरणमा किसानलाई अनुदानमा सहयोग गर्दै आएको जनाएको छ । विभिन्न किसान संघ संस्थाले समेत दूध किसानको रकम समयमै उपलब्ध गराउन माग गर्दै आएका थिए ।

    नेपाल किसान महासंघका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले किसानले उत्पादन गरेका दूधबाट विभिन्न दूधजन्य परिकार बनाएर नाफा कमाउने डेरी उद्योगले किसानलाई तिर्नुपर्ने रकम असुली गर्न सरकारले कडाइ गर्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार