Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • धनगढी विमानस्थलको जग्गा खरिद प्रकरणमा प्रेम आलेले गरे २५ करोड घोटाला, लेखासमितिमा उजुरी


    सोमबार, बैशाख ८ २०८२
    3.1K
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित सांसद प्रेमबहादुर आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पदको दुरुपयोग गरी धनगढी विमानस्थलका नाममा करोडौंको चलखेल तथा जालझेल गरेको तथ्य सार्वजनिक भएको छ ।

    आलेले पर्यटन मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण व्यवस्थापन र अन्य प्राविधिक कर्मचारीहरुलाई हप्काई दप्काई गरी धनगढी विमानस्थल विस्तार गर्ने भन्दै बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेर व्यक्तिगत कम्पनी खडा गर्दै जग्गा खरिद गरेका थिए । अशोक जोशी र हेम पन्तको नाममा आलेले उक्त जग्गा खरिद गरेको खुलेको छ ।

    आलेले ब्यक्तिगत कम्पनीको नाममा उक्त जग्गा खरिद गरी करोडौं रकम अपचलन गरेको बिषयमा छानबिन गरी कारबाहीको माग गर्र्दै संघीय संसदको सार्वजनिक लेखासमितिमा ४ बैशाख, २०८२ मा उजुरी परेको छ ।

    आलेले धनगढी विमानस्थलका नाममा करोडौंको चलखेल तथा जालझेल गरेको उजुरीमा उल्लेख छ । आलेले मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार तथा विचौलिया पवन गुप्ता र आफ्ना पीए हेमन्त रेग्मी र उनको फुपूको छोरा घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशी समेतलाई मिलाएर विमानस्थल आसपासमा जग्गा खरिद गराएका थिए । हेमन्त रेग्मीको सेटिङमा, प्रेमबहादुर आले, पवन गुप्ता र तेन्जिङ शेर्पा समेतको लगानीमा जग्गा खरिद गरिएको उल्लेख छ ।

    उक्त विमानस्थल क्षेत्रको विस्तार गर्ने भन्दै आलेले बजेट विनियोजन गरेको भनेका बेलामा पनि उनीहरुले सो क्षेत्रमा जग्गा किनेको चर्चा चलेको थियो । यद्यपि उनले गैरकानुनी तरिकाले बैंकका कर्मचारीलाई मिलाई बैंकलाई समेत ठगेर रकम हत्याएको र जग्गा किन्दा बचेको रकम समेत पचाएको पाइएको छ ।

    आलेले मन्त्री हुँदा सुरुमा नै प्राधिकरण नेतृत्व र प्राविधिक कर्मचारीहरुलाई धम्काई धनगढी विमानस्थल आसपासमा जग्गा किन्ने तयारी थालेका थिए । त्यसपछि सोही योजनाअनुरूप अशोक जोशी र हेम पन्तको नाममा एक कम्पनी खडा गरेर मन्त्री भएकै मौकामा मन्त्रालय मातहत रहेको प्राधिकरणको मुद्दती खातामा रहेको १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गर्न लगाएका थिए । त्यसपछि उनले बैंकमा सेटिङ गरेर बैंकबाट जग्गा धितो राख्दै रु. १ अर्ब ऋण लिएका थिए ।

    त्यसपछि सोही रकमले उनले धनगढी विमानस्थल आसपासमा ७५ करोड बराबरको ३० बिघा जग्गा किनेका थिए । त्यसमा उनका पीए हेमन्त र उनको फुपुको छोरा घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशीसमेतलाई मिलाएर विमानस्थल आसपासमा हेमन्त रेग्मीको सेटिङमा लगानी गर्ने प्रेम आले, पवन गुप्ता र तेन्जिङ शेर्पा समेतबाट जग्गा खरिद गरिएको थियो । उक्त समयमा आलेको समूहले प्रतिकट्टा साढे १२ लाखका दरले जग्गा किनेकोलाई पछि विमानस्थल बन्दा ५० लाख प्रतिकट्टाका दरले बेच्ने योजना राखिएको थियो । त्यहाँ अन्य व्यापारीक संरचना निर्माण गर्न पनि सकिने उनीहरुको योजना रहेको थियो । तथापी आले मन्त्रीबाट हटेपछि विमानस्थल विस्तारको योजना अलपत्र परेसँगै उनीहरूको योजना पनि अलपत्र परेको देखिन्छ । यसैक्रममा आले समूहले मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्येको २५ करोड रकम समेत कुम्ल्याएको देखिन्छ ।

    तत्कालीन समयमा मन्त्री हुँदा आलेले धनगढी विमानस्थल विस्तारको योजना ल्याएर २०७८ पुस ११ गते तत्कालीन पर्यटन मन्त्री आलेको अध्यक्षतामा प्राधिकरण संचालक समितिको एउटा बैठकबाट प्राधिकरण व्यवस्थापन र प्राविधिक कर्मचारी लगायत संचालक समिति समेतलाई दबाब दिई धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गराएका थिए । सो बेला धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने निर्णय समेत भएको थियो ।

    विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न जमिन अधिग्रहणका लागि स्रोत सुनिश्चित नै नगरी उक्त समयमा बजेट विनियोजन गरिएको थियो । आले अध्यक्ष रहेको उड्ड्यन प्राधिकरण संचालक समितिको २०७७ पुस ११ मा बसेको बैठकबाट प्राधिकरण र प्राविधिक कर्मचारी लगायत संचालक समितिलाई दबाब दिई आफू मन्त्री रहेकै समयमा आफ्नै सम्बन्धित प्राबिधिकबाट स्थलगत निरीक्षण तथा चेकजाँच समेत गराई उक्त विमानस्थलको गुरुयोजना समेत स्वीकृत गराएका थिए ।

    तत्पश्चात नेपाल सरकारबाट जग्गा अधिग्रहणको लागि स्रोत सुनिश्चितता एवम् बजेट व्यवस्थासमेत नभएको साथै प्राधिकरणको आन्तरिक स्रोतबाट जग्गा अधिग्रहण गर्न सकिने अवस्थासमेत नरहेको हुँदा हालको अवस्थालाई समेत विचार गरी थप कार्य अगाडि नबढेको अवस्थामा उनी विचलित भई प्रतिशोधमा उत्रिएका छन् । प्राधिकरणले उनले लगानी गरेको जग्गा अधिग्रहण नगर्ने भएपछि प्रतिशोधमा उत्रिएका आलेबाट प्राधिकरण एवं प्राधिकरणका महानिर्देशकबिरुद्ध काल्पनिक, कपोकल्पित आरोप–प्रत्यारोप लगाउनको साथै संघीय संसद एवं पदीय मर्यादा समेतको ख्याल नगरी व्यक्तिगत फाइदाका लागि देशकै गौरव पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा तथ्य, प्रमाण र आधारबिना अनियमितता भएको भन्ने व्यहोरा सार्वजनिकस्थलमा समेत बोल्दै आएको उजुरीमा उल्लेख छ । उजुरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र समस्त जन सरोकारमा समेत नकारात्मक भ्रम सृजना गरी प्राधिकरणको गरिमामै आँच पुर्याउन आले लागेको उल्लेख छ ।

    व्यक्तिगत फाइदाका लागि दबाब दिई प्राधिकरणबाट रु. १ अर्ब बजेट छुट्याई विमानस्थल बिस्तारको लागि जग्गा अधिग्रहणको नाममा भएको अनियमितता र करोडौ रकम अपचलन सम्बन्धमा प्राप्त उक्त समूहबाट खरिद भएको जग्गाको विवरण (गुगल नक्सा), विमानस्थलको गुरुयोजना तथा उनी मन्त्री हुँदाको समयको स्वीकृत बजेट तथा कार्यक्रम लगायतका कागजातसमेत संलग्न गरी नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले लेखासमितिमा उजुरी दिएका छन् ।
    आलेबाट पदीय मर्यादा र जिम्मेवारीबिपरीत व्यक्तिगत हित, फाइदाका लागि धनगढी बिमानस्थल विस्तारको नाममा भए गरेका करोडौं रकम बराबरको अनियमित कार्यको छानबिन गरी कारबाहीको माग गरिएको छ ।

    क्यासिनो अनुमतिमा आलेको करोडौंको चलखेल, राष्ट्रबैंक र राजस्वको छानबिन

    मन्त्री प्रेम आलेले पर्यटन मन्त्री हुँदा ६ वटा क्यासिनोलाई अनुमति दिंदा करोडौं घुस लिएको आरोप पनि लाग्दैआएको छ । आलेले पर्यटन मन्त्री हुँदा आर्थिक चलखेलमा अन्धाधुन्द क्यासिनोको लाइसेन्स बितरण गरेको आरोप छ । आले पर्यटना मन्त्री हुँदा मापदण्ड नै नपुगेका ६ वटा क्यासिनोलाई अनुमति दिएका थिए । आलेले क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रुपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । तर यी प्रावधान कुनै पनि पूरा नगरी सेटिङमा आलेले लाइसेन्स दिएका थिए ।

    कोरोना महामारीको बेला आइसोलेसनबाटै उनले मापदण्ड नै नपुगेको ठमेलको छायाँ सेन्टरमा रहेको होटेल अलफ्टमा पनि ‘वाल्डो इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालन गर्न अनुमति दिएका थिए । चाइनीजलाई उक्त क्यासिनोको अनुमति दिइएको थियो । जुन क्यासिनो सुन तस्करीमा मुछिएको प्रतिवेदन डिल्ली आचार्यको सुन छानबिन समितिले दिएको छ ।

    आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका थिए । नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्ट, होटल सिटी प्यालेसस्थित सेटियर इन्टरटेनमेन्ट, होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले पनि लाइसेन्स पाएका थिए । भैरहवाको नान्स होटल ‘सिद्धार्थ गेमिङ जोन’ नाममा लाइसेन्स जारी भएको थियो । जसमा बीरगंजको आदर्शनगरमा रहेको किङ्स क्यासिनो पनि हो । बीरगंजमा रहेको किङ्स क्यासिनोले बिभागको दिएको इजाजतको खिल्ली उडाउँदै फलास म्यारिज जस्ता गेमहरु पनि खेलाउँदै आएको छ । नेपाली नागरिकलाई पनि निर्वाध प्रवेश गराउने गरेको उक्त क्यासिनोमा कुमोद ढुंगेल एसपी भएपछि छापा समेत मारिएको थियो । जसमा नेपाली पक्राउ परेका थिए ।

    त्यसो त उनले अनुमति दिएका क्यासिनोहरुमा उनले आफन्तको नाममा २० प्रतिशत गोल्डेन सेयर समेत लिएको स्रोत बताउँछ । उनको पालामा लाइसेन्स जारी भएको बीरगंजको किङ्स क्यासिनोका बिरुद्ध राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । जुन क्यासिनोका एक सामान्य कर्मचारीको बैंकखाताबाट प्रेम आलेको नाममा समेत ठूलै रकम कारोबार भएको देखिएको बिभाग स्रोतले बताएको छ । राष्ट्रबैंकले राजस्व अनुसन्धान बिभागलाई उक्त खाताको अनुसन्धान गर्न पत्र पठाएपछि किङस क्यासिनोका संचालक माधव गिरीहरु मिलाउने दौडधूपमा छन् । तर राष्ट्रबैंकले सम्पत्ति शुद्धीकरण भएको आशंकामा छानबिन गर्न पत्र पठाएकाले गिरीहरुको मिलाउने प्रयास सफल हुन नसकेको बिभाग स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार