Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सुन लुटपाटमा मुछिएका इन्स्पेक्टरलाई घुमुवा बनाएपछि तस्करी बढ्यो


    बुधबार, बैशाख ३ २०८२
    3.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बारा । भन्सारछली तस्करी बढ्दा लक्ष्य अनुसार राजस्व असुली हुन नसक्दा देशको साधारण खर्च धान्न धौ धौ परिरहेको छ । तर तस्करी नियन्त्रण गर्नका लागि स्थापना गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुको ध्यान भन्सारछली रोक्ने र राजस्व असुली बृद्धि गर्नेतिर भन्दा पनि अतिरिक्त कमाइतिर बढी केन्द्रित हुँदैआएको छ ।

    यसैक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले सुन लुटपाटमा संलग्न प्रहरी निरीक्षक खेमप्रसाद नेपाललाई जिल्लामा ल्याएर घुमुवा कमाण्डर बनाएका छन् । सीमा प्रहरी चौकी रसुवा टिमुरेमा कार्यरत हुँदा इन्स्पेक्टर खेमप्रसाद नेपालसहित चार जनालाई सुन लुटपाट गरेकोमा निलम्बन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ५ गते बिशेष अदालतमा मुद्दा नै दायर गरेका थियो । २०७७ पुस ११ गते अवैधरुपमा चीनबाट ल्याएको सुन बरामद गरी कसुरदारसहित सम्बन्धित निकायमा बुझाउनुपर्नेमा प्रहरी निरीक्षक नेपालसहितले आपसमा बाँडफाँड गरी लिएको अनुसन्धानबाट खुलेको थियो ।

    अख्तियारले सुन लुटपाटमा संलग्न इन्स्पेक्टर नेपालसहित टिमुरेका प्रहरी हवल्दारहरु रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीविरुद्ध जनही २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । हवल्दार रिमालले ना ६ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन कब्जा गरेको सुन सम्बन्धित निकायमा बुझाउनुपर्नेमा त्यसो नगरी प्रहरी निरीक्षक नेपालको मिलेमतोमा लिएको पाइएपछि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेको थियो ।

    तिनै प्रहरी निरीक्षक खेमप्रसाद नेपाललाई एसपी तामाङले घुमुवा कमाण्डर बनाएर सीमा नाकाहरुमा परिचालन गरी तस्करीको नेटवर्कसँग असुलीमा लगाएको आरोप छ । एसपी तामाङ पनि २०७५ मा जिल्ला प्रहरी कार्यालय रसुवामा डीएसपीका रुपमा कार्यरत थिए । त्यसबेलादेखि नै इन्स्पेक्टर नेपालसँग उनको सुसम्बन्ध रहिआएकाले बारामा पनि उनलाई ल्याएर घुमुवा कमाण्डर बनाएको बताइन्छ ।

    इन्स्पेक्टर नेपालको नेतृत्वमा प्रहरी जवान चन्दन यादवलाई घुमुवाका रुपमा खटाइएको छ । सिम्रौनगढ नाकाबाट घुमुवा कमाण्डर नेपालको टोलीसँग सेटिङ मिलाएर सन्दिप यादव, भोला गुप्ता, अरबिन्द साहलगायतका ब्यापारीले मासिक दररेट बुझाएर तस्करीको लाइन चलाउँदैआएका छन् ।

    घुमुवा टोलीसँग सेटिङ मिलाएर माटिअर्वाबाट वीरगञ्जका शत्रुघन यादवले राति १२ बजेदेखि बिहान ३ बजेसम्म ट्याम्पुमा कपडा तस्करी गर्ने गरेका छन् ।

    घुमुवासँगको सेटिङमा गाँजा तस्करी पनि हुन थालेको छ । घुमुवासँगकै सेटिङमा तेलगाई गाउँबाट भारततर्फ गाँजा तस्करी हुन थालेको छ । पछिल्लो समय गाँजा तस्करहरुका लागि बारा स्वर्णभूमि बनेको छ । केही महिनाअघि बाराबाट तस्करी भएको गाँजा भारतको मोतिहारीमा बरामद समेत भएको थियो ।

    त्यसैगरी, कवाडीगोठबाट फुल र माछाको तस्करी बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार