Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीमा असिनाले गहुँ बाली र तरकारीमा क्षति


    आइतबार, चैत्र ३१ २०८१
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बैतडी । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिना पानीले पाक्न लागेको गहुँ बाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् ।

    जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्‍याएको हो । बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ । अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँ बालीमा व्यापक क्षति पुर्‍याएको सिगास गाउँपालिका–९ का रामबहादुर चन्दले जानकारी दिए । असिनाले खेतबारी सेताम्मे भएका छन् । उनले भने, “गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट गर्‍यो ।”

    दोगडाकेदार–६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँ बालीका तरकारी नष्ट गरेको बताए । फलफूल, आलु, प्याज, लसुन तथा खुर्सानी र बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उनले बताए । उनले भने, “पाक्न थालेको बालीनाली र तरकारी असिनापानीले सबै नष्ट पारेपछि उत्पादनमा कमी आउने देखिएको छ । किसानहरू चिन्तित भएका छन् ।” कृषि ज्ञान केन्द्रले यकिन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार